
सप्तरी, ०९ भदौ। सप्तरीको चन्द्र नहरमा डुबेर फेरि एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–६ घोगनपुरका ४६ वर्षीय सत्रुधन सरदारको आइतबार साँझ नहरमा डुबेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार सरदार मादक पदार्थ सेवन गरेको अवस्थामा नुहाउन नहरमा प्रवेश गरेका थिए । तर, डुबेर बेपत्ता भएपछि स्थानीयको खोजतलासमा मृतावस्थामा फेला परेका हुन्।
एक हप्ताअघि सोही नहरको चाँदनीचोक नजिक नगरपालिका–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको पनि डुबेर मृत्यु भएको थियो । लगातार हुने यस्ता घटनाले चन्द्र नहरमा सुरक्षा व्यवस्थाबारे स्थानीयले गम्भीर प्रश्न उठाएका छन् ।
