सप्तरी, १७ भदौ। सप्तरीको महादेवा गाउँपालिका–१ की २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भएपछि प्रहरीद्वारा उनका श्रीमान र ससुरा पक्राउ परेका छन्। शनिबार साँझ श्रीमान दीपककुमार यादवले ‘सुतिरहेको ठाउँमै अचेत भइन्’ भन्दै दीपाकुमारीलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।
तर चिकित्सकले उनलाई मृत घोषणा गरे। उपचारका क्रममा नभई मृत अवस्थामा अस्पताल ल्याइएको थाहा पाएपछि प्रहरी टोलीले घटनालाई शंकास्पद मानेर तत्काल अनुसन्धान सुरु गर्यो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार मृतकको घाँटीमा निलडाम देखिएकाले हत्या गरिएको आशंका गरिएको छ। “श्रीमानले भनेको विवरण र घटनास्थलको अवस्था मिलेन। सोधपुछ गर्दा उनी हडबडाएका कारण नियन्त्रणमा लिइएको हो,” उनले भने।
दीपक र दीपाकुमारीबीच गत असार ४ गते मागी विवाह भएको थियो। प्लस टु पढ्दै गरेकी दीपाकुमारी रोजगारीका सिलसिलामा मलेसियामा रहेका बाबु संजिवकुमार यादवकी छोरी हुन्। आमा प्रमिलादेवीका अनुसार ‘छोरीलाई राम्रो परिवार भनेर आफन्तमार्फत विवाह गरिदिएको’ भए पनि बिहेपछि दाइजोका कारण झगडा सुरु भएको थियो।
मृतकको ठूलोबुवा विनदलेख यादवका अनुसार विवाहमा करिब २५ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। सुरुवाती दिनमा सम्बन्ध सहज रहे पनि पछि दाइजो कम भएको भन्दै थप माग गर्ने र यातना दिने क्रम बढेको परिवारको दाबी छ। रक्षाबन्धनको बेला माइती आएकी दीपाकुमारीले ‘मोटरसाइकल माग गर्दै सताउने गरेको’ कुरा आफन्तलाई सुनाएकी थिइन्।
घटनापछि मृतककी आमाले पनि छोरीमाथि निरन्तर कुटपिट र दाइजोको दबाब परेको बताएकी छन्। कर्तव्य ज्यान मुद्दामा दर्ता भएको उजुरीपछि प्रहरीले दीपककुमार र उनका बुबा पशुराम यादवलाई पक्राउ गरी जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको जनाएको छ।
दीपाकुमारीको शव पोष्टमर्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। सोमबार पोष्टमर्टमपछि विस्तृत प्रतिवेदन आउने प्रहरीले जनाएको छ।


