रौतहट, २३ पुस । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा बुधवार ५० जना कुकुरको टोकाईबाट घाइते भएका छन् ।
कुकुरको टोकाईबाट घाइते भएका मध्ये २७ जनालाई प्रादेशिक अस्पताल गौरमा रबिज भ्याक्सिन दिइएको छ भने पाँच जनालाई वीरगञ्ज रेफर गरिएको गौर अस्पतालले जनाएका हुन् ।
अस्पतालमा कुकुरको टोकाईबाट घाइते भएका ३२ जना उपचारको लागि आउदा २७ जनालाई रबिज विरुद्धको इन्जेक्सन दिइएको र गम्भीर घाइते पाँच जनालाई थप उपचारको लागि वीरगञ्ज तर्फ रेफर गरिएको प्रादेशिक अस्पताल गौरका सूचना अधिकारी कपिलदेव झाले बताए ।
आज बिहान गढीमाई नगरपालिका– १, ४, ६ र ८ नम्वर वडामा बसोवास गर्ने मासिनहरुमाथि एक्कासि भुसयाहा कुकुरको आक्रमण गर्दा ५० जना घाइते भए । कुकुरको टोकाइबाट खास गरेर बालबालिका, महिला तथा वृद्धवृद्धा घाइते भएको बताइएको छ ।
गढीमाईको उक्त वडाहरुमा आफन्तको घर आएका फतुवा विजयपुर तथा राजपुर नगरपालिकाका केही नागरिकहरु घाइते भएको बुझिएको छ ।
अस्पतालका सूचना अधिकारी झाका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्था माथि निरन्तर निगरानी राखिएको छ भने आवश्यक औषधि, रेबिज विरुद्धको खोप तथा चिकित्सकीय सेवा पर्याप्त मात्रामा उपलब्ध गराइयो ।
कुकुरको टोकाईबाट अन्य घाइतेहरु उपचार गराउन भोली अस्पतालमा आउने बुझिएको उनले भने ।
यसैबीच, एक्कासि कुकुरको आक्रमण बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । बिहान–बेलुका आवतजावत गर्न समेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउन तथा वृद्धवृद्धालाई घरबाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको छ ।
स्थानीय बासिन्दाले कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित स्थानीय तह, प्रशासन र सरोकारवाला निकायसँग माग गरेका छन् । खुला रूपमा छाडिएका तथा आक्रामक कुकुरका कारण यस्तो अवस्था आएको भन्दै शीघ्र नियन्त्रणको सम्बध निकायले ध्यान पुर्याउनु नितान्त आवश्यक रहेको पिडितहरुले बताए ।


