काठमाडौँ, २४ पुस। यमनको दक्षिणी प्रान्त अल–धालियामा बुधबार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।
दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) का नेता आयदारस अल–जुबैदीको गृहनगरलाई लक्षित गरी सो आक्रमण गरिएको हो ।
अल–धालियाको स्वास्थ्य विभागका एक अधिकारीकाअनुसार जुबैर क्षेत्रको एउटा आवासीय घरमा भएको हवाई आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ । एसटीसीले दक्षिण यमनका जनताका मुद्दाहरू समाधानका लागि गम्भीर संवाद नै उत्तम उपाय भएको र आफूहरू राजनीतिक पहलहरूमा जिम्मेवारीपूर्वक संलग्न रहेको स्पष्ट पारेको छ ।
यसैबीच, एसटीसीका महासचिव अब्दुल रहमान जलाल साहेर अल–सुबैहीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल साउदी राजधानी रियाद पुगेको छ । तर एसटीसी नेता अल–जुबैदी भने रियादमा हुने भनिएको वार्तामा सहभागी हुन जहाज नचढी अज्ञात स्थानतर्फ लागेको बताइएको छ ।
साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले अल–जुबैदीलाई यमनको राष्ट्रपतीय नेतृत्व परिषद् (पीएलसी) का अध्यक्ष रशाद अल–अलिमीसँग वार्ताका लागि रियाद बोलाइएको जानकारी दिए । अर्कोतर्फ, पीएलसी अध्यक्ष अल–अलिमीले अल–जुबैदीमाथि राज्यद्रोहको अभियोग लगाउँदै परिषद्को सदस्यता खारेज गरिदिएका छन् ।
उनलाई दक्षिण यमनका सर्वसाधारणविरुद्ध ज्याददी गरेको र दक्षिणी मुद्दालाई दुरुपयोग गरेको आरोप लगाइएको छ । सन् २०१७ मा गठित एसटीसीले दक्षिण यमनको आत्मनिर्णय र स्वतन्त्रताको माग गर्दै आएको छ । पछिल्लो समय साउदी समर्थित सेना र एसटीसीबीच तेल समृद्ध हद्रामौत र अल–माहराह प्रान्तको नियन्त्रणलाई लिएर विवाद चुलिएको छ ।


