काठमाडौँ, २४ पुस। बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि निरन्तर बढ्दै गएको हिंसा चिन्ताजनक बन्दै गएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि सन् २०२४ अगस्टदेखि नै अल्पसङ्ख्यकहरू, विशेष गरी हिन्दहरूमाथि लक्षित आक्रमणहरू बढेका छन् ।
अन्तरिम सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले हिन्दुहरूमाथि भइरहेको हत्या, हिंसा, दमन र अत्याचारलाई प्रायः “साम्प्रदायिक नभएको” वा “व्यक्तिगत विवाद” भनेर अस्वीकार गर्ने गरेको भए पनि पछिल्ला दिनहरूमा भएका हिन्दुहरूको निर्मम हत्याहरूले उनको दाबीलाई चुनौती दिइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो ३५ दिनमा मात्र कम्तीमा ११ जना हिन्दुको हत्या भएको छ । हिन्दुहरूको हत्या गर्दा गोली हान्ने, घाँटी रेट्ने, भीडले कुटपिट गरेर जलाउने जस्ता क्रूर तरिकाहरू प्रयोग भएका छन् ।
उदाहरणका लागि, यसै साता जनवरी ५ मा जेसोर जिल्लामा आइस फ्याक्ट्री मालिक तथा स्थानीय पत्रिकाका सम्पादक ४० वर्षीय राणा प्रताप वैरागीलाई अज्ञात आक्रमणकारीहरूले फ्याक्ट्री नजिक बोलाएर सात वटा गोली हानेर घाँटी रेटेर हत्या गरेका छन् ।
वैरागी पूर्व प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगसँग जोडिएका अल्पसङ्ख्यकहरूको अधिकारका लागि सक्रिय नेता थिए । हसिना सरकार ढलेपछि उनले केही महिनादेखि आफ्नो र परिवारको सुरक्षाका लागि मासिक रूपमा ३ लाख टाका (बंगाली पैसा) समेत तिर्दै आएका छन् । यद्यपि, उनको हत्या गरिएको छ । वैरागीको पत्नी, ८ वर्षीय छोरा र शिक्षक आमाबुबा टुहुरा भएका छन् ।
वैरागीकै हत्या भएको दिन नर्सिंगडीमा किराना पसल सञ्चालक मणि चक्रवर्तीलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको थियो । दुई हत्यापछि जनवरी ६–७ मा थप घटनाहरू सार्वजनिक भएका छन् । नाओगाँओ जिल्लामा मिथुन सरकार नामका युवा हिन्दूलाई चोरीको आरोप लगाउँदै भीडले पछ्याएपछि ज्यान जोगाउन पोखरीमा हाम फाल्दा उनको ज्यान गएको थियो ।
पछिल्ला दिनमा भएका घटनाहरूले हिन्दु समुदायमा त्रासको वातावरण सिर्जना गरेको छ । यसअघि डिसेम्बरमा सुन व्यापारी प्रान्तोष कर्मकार र माछा व्यापारी उत्पल सरकारको हत्या भएको थियो । त्यसअघि रङपुरमा १९७१ को मुक्ति युद्धका योद्धा जोगेश चन्द्र रोय र उनकी पत्नी सुबोर्णा रोयको पनि घाँटी रेटेर हत्या गरिएको थ्यो ।
सोहीगरी कुमिल्लामा अटो चालक शान्तो चन्द्र दास, माइमेंसिंगमा गार्मेन्ट कामदार दिपु चन्द्र दासलाई इस्लाम समर्थित धार्मिक भीडले कुटपिट गरी जलाएर हत्या गरेको थियो । यस्तै, राजबारीमा अमृत मण्डलमाथि चोरीको आरोप लगाएर कुटपिट गर्दै उनको हत्या गरिएको थियो भने अन्सार बहिनी नामक संस्थाका सदस्य बजेन्द्र विश्वासलाई सहकर्मीले गोली हानेर हत्या गरिएको थियो ।
यस्तै, शरियतपुरमा औषधी व्यवसायी खोकन चन्द्र दासलाई छुरा प्रहार गरी पेट्रोल छर्केर जलाउने प्रयास गरिएको थियो । भिडबाट आफ्नो ज्यान जोगाउन सफल भए पनि उपचारको क्रममा उनको मृत्यु भयो ।
बङ्गलादेशका अल्पसङ्ख्यकहरूका अनुसार, इस्लामिक कट्टरपन्थी समूहहरूले हिन्दु घरहरूमा मासिक रूपमा “सुरक्षा कर” असुल्ने र नतिरे ज्यान मार्ने धम्की दिने गरेका छन् । बैरागीका आफन्तहरूका अनुसार मासिक रूपमा कर तिरे पनि उनको हत्या भयो । हिन्दुहरू बङ्गलादेशमा सुरक्षित नरहेको कारण भारततर्फ बसाइँ सर्ने उनीहरूले योजना बनेका छन् । हिंसाका घटनाहरू बढ्दै गएपछि धेरै हिन्दु परिवारहरूले जग्गा बेचेर भारत वा अन्यत्र बसाइसराइ गर्ने योजनामा रहेको बुझिएको छ ।
युनुस सरकारले दिपु चन्द्र दासको हत्यापछि केही कारबाही गरेको देखाए पनि अन्य घटनाहरूमा जांच सुस्त रहेको हिन्दु अगुवाहरूको दाबी छ । बंगलादेशी एनजीओ ऐन ओ सलिश केन्द्रको रिपोर्ट अनुसार सन् २०२५ मा मात्र १९७ जना इस्लामिक कट्टरपन्थीहरूले गरेको हिंसामा मारिएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले अल्पसङ्ख्यक मन्त्रालय गठन गरी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । भारतले पनि हिन्दुहरूमाथि भइरहेको निरन्तर हिंसालाई गम्भीर चिन्ताको विषय भनेको छ ।
बङ्गलादेशमा बढ्दो हिंसाले आगामी फेब्रुअरी निर्वाचनअघि ठूलो अस्थिरता निम्त्याउन सक्छ । निर्दोष जीवनहरू गुमिरहँदा न्याय र शान्ति कहिले स्थापित होला भन्ने प्रश्नले सबैलाई पिरोलिरहेको छ । अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित नगरे देशको सामाजिक सद्भाव नै खतरामा पर्न सक्छ ।


