अफिमसहित वीरगञ्जका जौवाद अहमदसहित तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ४ पटक पढिएको
अफिमसहित वीरगञ्जका जौवाद अहमदसहित तीन जना पक्राउ

वीरगञ्ज, २५ पुस। बाराको प्रसौनी गाउँपालिका–१ नक्तुवा (नकटुवा) क्षेत्रमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट २ किलो २४ ग्राम लागूऔषध अफिम बरामद गर्दै पर्साका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय जौवाद अहमद, बहुदरमाई नगरपालिका–७ का ३८ वर्षीय निलेश पटेल कुर्मी र विन्दवासिनी गाउँपालिका–२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन् ।

बिहीबार अपराह्न इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले पतञ्जलि क्षेत्रबाट नक्तुवातर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कारको पछाडिको सिटमाथि कालो प्लास्टिकमा प्याक गरी लुकाई छिपाइ राखिएको अफिम फेला परेपछि चालकसहित कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले उनीहरूलाई हिरासतमा राखी लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये जौवाद अहमद वीरगञ्जस्थित ‘होप अलाइभ च्यारिटी फाउन्डेसन’ नामक गैरसरकारी संस्थासँग पनि आबद्ध छन् । लागूऔषध कारोबारबाट आर्जित कालो धन व्यवस्थापन गर्न उक्त संस्था खोलिएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको गाडी पनि संस्थाको काममा प्रयोग हुँदै आएको प्रहरीलाई प्रमाण फेला परेको छ ।साथै, पक्राउ परेकाहरूले सङ्गठित गिरोह नै बनाएर लागूऔषधको कारोबार गर्दै आएको र गैरसरकारी संस्था पनि सोही गिरोहको एउटा कडीका रूपमा प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि, आशङ्काहरूको पुष्टि अनुसन्धानबाट मात्र हुनेछ ।

घटनाले सीमा क्षेत्रमा लागूऔषध ओसारपसारको जोखिमलाई पुनः उजागर गरेको छ । प्रहरीले यस विषयमा थप गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस