काठमाडौं, २५ पुस। मन्त्रीबाट राजीनामा दिएपश्चात कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरे ।
कुलमान र रविबीच वान टु वान कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार रविलाई भेट्न कुलमान उनको निवासमा पुगेका थिए । भेटवार्तामा पार्टी समायोजनका विषयमा छलफल भएको थियो । कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् । कुलमानको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संसोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।
पार्टी एकताको सहमतिमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै कुराहरु मिल्न बाँकी छन् । केन्द्रीय समितिमा बालेनको तर्फबाट सदस्यहरु २६ गरिँदा उज्यालोको तर्फबाट समायोजन भएको छैन । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा नमिलिरहेको स्रोत बताउँछ । यसैगरी उज्यालाले समानुपातिकको बन्द सूचीमा आफ्नो पट्टिबाट समावेश भएका केही व्यक्तिहरुलाई प्राथमिकताक्रममा माथि तान्नुपर्ने अडान पनि लिएको छ ।
रास्वपा र उज्यालो नेपालबीचको सहमतिपत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख थियो । तर, घिसिङ अहिलेसम्म रास्वपाको वैठकमा गएका छैनन् । पार्टी समायोजन पश्चात मात्रै बैठकमा जाने उनले बताएका छन् ।
मन्त्रीबाट राजीनामापश्चात उनले राजनीतक भेटघाट तीव्र बनाइरहेका छन् । उनले हिजो आफ्नै निवासमै बसेर पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।


