रक्सौल, २६ पुस। भारतको रक्सौलमा शनिबार बिहान आयकर विभागको टोलीले प्रमुख व्यवसायी मोहम्मद कलीमका विभिन्न व्यावसायिक प्रतिष्ठान तथा पैतृक आवासमा एकैसाथ ठूलो स्तरको छापेमारी गरेको छ। आयकर विभाग, भारत सरकारका करिब दुई दर्जनभन्दा बढी सवारीसाधनसहित पुगेको टोलीले छुट्टाछुट्टै समूह बनाएर कारबाही सुरु गरेको बताइएको छ।
घना कुहिरो र कडाकेको जाडोबीच बिहानै सुरु भएको यस छापेमारीका कारण रक्सौल शहरमा हडकम्प मच्चिएको छ। अधिकांश मानिसहरू घरमै रहेका बेला आयकर विभागको टोलीले अचानक कारबाही थालेपछि स्थानीय बासिन्दा र व्यवसायिक समुदाय अचम्मित बनेका छन्।
आयकर विभागको टोलीले आदापुर प्रखण्डअन्तर्गत विष्णुपुरवास्थित मोहम्मद कलीमको पैतृक घर, रक्सौल मुख्य सडकको पंकज चोक नजिक रहेको प्रतिष्ठान, तनिष्क ज्वेलरी शोरूम तथा लक्ष्मीपुरस्थित हिरो होन्डा शोरूममा एकैसाथ छापा मारेको हो। ती सबै स्थानलाई सुरक्षाकर्मीको घेरामा राखी कागजात जाँच, लेखा–जोखा परीक्षण तथा कर्मचारी र व्यवसायीसँग सोधपुछ सुरु गरिएको छ।
स्थानीय स्रोतका अनुसार मोहम्मद कलीमसँग सम्बन्धित व्यक्तिहरू र नातेदारहरूमाथि पनि आयकर विभागको निगरानी रहेको छ। यसै क्रममा एक अल्ट्रासाउन्ड केन्द्र र एक्स–रे केन्द्रका सञ्चालकको प्रतिष्ठानमा समेत छापेमारी गरिएको जानकारी प्राप्त भएको छ।
पंकज चोकस्थित प्रतिष्ठान र तनिष्क शोरूममा अधिकारीहरूले कागजात र बहीखाता गहन रूपमा जाँच गरेका छन् भने लक्ष्मीपुरस्थित हिरो शोरूममा सम्पूर्ण शोरूमको निरीक्षण गरिएको छ। विष्णुपुरवास्थित पैतृक घरमा व्यक्तिगत तथा व्यावसायिक कागजातहरूको सूक्ष्म रूपमा छानबिन गरिएको जनाइएको छ। छापेमारीका क्रममा कर्मचारी तथा परिवारका सदस्यहरूसँग समेत सोधपुछ गरिएको छ।
अचानक भएको यस कारबाहीले शहरभर चर्चा र कौतुहलता बढेको छ। स्थानीय बासिन्दा तथा व्यवसायीहरूबीच छापेमारीको कारण र यसको प्रभावबारे विभिन्न अड्कलबाजी हुन थालेको छ। यद्यपि आयकर विभागका अधिकारीहरूले हालसम्म यस विषयमा कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।
आयकर विभागका स्रोतका अनुसार छापेमारी अझै जारी छ र कागजात जाँच तथा सोधपुछको प्रक्रिया चलिरहेको छ। यस कारबाहीबाट कति सम्पत्ति वा वित्तीय अनियमितता उजागर हुन्छ भन्नेबारे अहिले नै स्पष्ट नभएको बताइएको छ। विभागको यो कदमलाई कर नियम र वित्तीय अनुशासन पालनाको सन्देशका रूपमा पनि हेरिएको छ।
उल्लेखनीय छ कि व्यवसायी मोहम्मद कलीम पछिल्लो समय विशेष चर्चामा आएका थिए। करिब छ महिनाअघि रक्सौलमा खुलेको तनिष्क शोरूमको उद्घाटन कार्यक्रममा भोजपुरी अभिनेत्री काजल राघवानीको उपस्थिति भएपछि उनी चर्चाको केन्द्रमा आएका थिए।


