ताप्लेजुङ, २६ पुस। काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई ताप्लेजुङबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङमा पक्राउ परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार चर्मकार लिखत किर्ते र चोरी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गर्दै आएका थिए । उनी हाल काठमाडौं महानगरपालिका–२८ बागबजारमा डेरा गरी बस्दै आएका थिए ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थित निर्माणाधीन एक जलविद्युत आयोजनामा लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले २०८२ असार १७ गते चर्मकारलाई एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।


