काठमाडौं, २७ पुस। इरानमा आर्थिक सङ्कट बढ्दै गएपछि राजधानी तेहरानको ग्राण्ड बजार क्षेत्रबाट केही व्यवसायीहरूले सुरु गरेको सरकार विरोधी प्रदर्शन दुई सातामा देशभर फैलिएको छ ।
देशका सबै प्रान्तका रहेका एक सय भन्दा बढी सहरमा प्रदर्शन फैलिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । इरानको सुरक्षा फौजको कडा दमनका कारण सयौँ प्रदर्शनकारी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् । त्यस्तै सरकारले हजारौँलाई नियन्त्रणमा लिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूसँग कुरा गरेका इरानका विभिन्न अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले आफ्ना स्वास्थ्य संस्थाहरू मृतक र घाइतेको सङ्ख्याले भरिभराउ भएको बताएका छन् ।
तेहरानका एक अस्पतालका एक चिकित्सकले भने, “युवाहरूको टाउको र मुटुमा प्रत्यक्ष गोली लागेका धेरै बिरामी आएका छन् । धेरैले अस्पताल पुग्नुभन्दा पहिले नै ज्यान गुमाइसकेका थिए ।” अर्की स्वास्थ्यकर्मीले शव गृहमा ठाउँ नपुगेर शवहरूलाई एक अर्कामाथि राखिएको छ । त्यहाँ ठाउँ नपुगेपछि प्रार्थना कक्षमा पनि राखिएको उनले बताइन ।
तेहरानको मुख्य आँखा अस्पताल फराबीमा आँखामा छर्रा गोली लागेका सयौँ बिरामीको उपचार भइरहेको छ स्रोतहरूको दाबी छ । रश्त सहरको पौर्सिना अस्पतालमा शुक्रवार राति मात्र ७० वटा शव ल्याइएको र शव गृह भरिएपछि अन्यत्र लगिएको स्रोतले बताएको छ । आफन्तलाई शव बुझाउन ७ अर्ब रियाल (लगभग ७ हजार अमेरिकी डलर) तिर्न भनिएको थियो ।
मानव अधिकार समूहहरूका अनुसार प्रदर्शनमा कम्तीमा ७८ प्रदर्शनकारी मारिएका छन् भने कुल ११६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ३८ सुरक्षाकर्मी पनि छन् । कम्तीमा ७ जना नाबालक पनि मारिएका छन् भने २,६३८ जना पक्राउ परेका छन् । बिबिसी फारसीले २६ जनाको मृत्युको पहिचान पुष्टि गरेको छ जसमा ६ जना बालबालिका छन् ।
प्रदर्शन डिसेम्बर २८ मा तेहरानको बजार क्षेत्रमा महँगीविरुद्ध सुरु भएको थियो । यद्यपि, चाँडै नै सरकार विरोधी नारा लगाउँदै देशव्यापी बनेको छ । प्रदर्शनकारीले सवारी साधन र सरकारी भवनमा आगो लगाएका दृश्यहरू भिडियोमा देखिएका छन् । इरानको सेनाले सार्वजनिक सम्पत्तिको रक्षा गर्न सुरक्षा फौजसँगै खटिने घोषणा गरेको छ ।
इरानको सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले शुक्रवार टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीलाई “विनाशकारी तत्त्व” भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदर्शन उक्साएको आरोप लगाएका छन् ।
खामेनीको चेतावनी पछि ट्रम्पले सामाजिक सञ्जालमा इरान स्वतन्त्रतातर्फ अगाडि बढिरहेको र त्यहाँको जनतालाई अमेरिका सहयोग गर्न तयार रहेको लेखेका छन् । उनले प्रदर्शनकारीमाथि हत्या भए अमेरिकाले सैन्य कारबाही गर्ने धम्की दोहोर्याएका छन् तर “जमिनमा सेना नपठाउने” स्पष्ट पारेका छन् ।
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री किर स्टार्मर र जर्मन चान्सलर फ्रिडरिख मर्जले संयुक्त वक्तव्य जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न इरानलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि हिंसात्मक दमनको निन्दा गरेको छ ।
इरानमा बिहीबार साँझदेखि इन्टरनेट पूर्ण रूपमा बन्द हुँदा जानकारी सङ्कलन र प्रमाणीकरणलाई कठिन बनाएको छ । तैपनि स्टारलिंकजस्ता स्याटेलाइट कनेक्सनमार्फत केही जानकारी बाहिर आइरहेको छ । एक तेहरानवासीले सीएनएनलाई इन्टरनेट बन्दले उल्टै मानिसहरूलाई सडकमा निस्कन प्रेरित गरेको बताए । “सबै उमेरका मानिस सडकमा छन्,” उनले भने ।
प्रदर्शनकारीहरूले अहिले जारी आन्दोलन २०२२ को महसा अमिनी आन्दोलनभन्दा ठुलो र व्यापक भएको बताएका छन् । इरानको अन्तर्राष्ट्रिय सञ्चार बन्द भएकाले स्वतन्त्र रूपमा मृतक र पक्राउको सङ्ख्या पुष्टि गर्न कठिन छ ।
अर्कोतर्फ आर्थिक सङ्कट, मुद्रास्फीति, रियालको अभूतपूर्व अवमूल्यन र जीवनयापनको महँगाइविरुद्ध सुरु भएको आन्दोलन अहिले इस्लामिक गणतन्त्रको पूर्ण परिवर्तन र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामाको मागमा बदलिएको छ ।
देशका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले “तानाशाहको मृत्यु होस्” “खामेनीको मृत्यु होस्” र “रेजा शाह, तिम्रो आत्मालाई शान्ति मिलोस्” जस्ता नारा लगाउँदै विरोध चर्केका छन् । केही ठाउँमा इरानको वर्तमान इस्लामिक झन्डालाई जलाएर प्रदर्शनकारीहरूले सिंह र सूर्य अङ्कित राजतन्त्र कालको पुरानो झन्डा पनि देखिएका छन् ।


