कटहरिया नगरपालिकाले एक हप्ताभित्र कर्मचारीको बक्यौता तलब भुक्तानी गर्ने निर्णय : नगर प्रमुख जैसवाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ५ पटक पढिएको
कटहरिया नगरपालिकाले एक हप्ताभित्र कर्मचारीको बक्यौता तलब भुक्तानी गर्ने निर्णय : नगर प्रमुख जैसवाल

रौशन कुमार चौधरी

रौतहट,२७ पुस। कटहरिया नगरपालिका कर्मचारीहरूको तलब–भत्ता बक्यौता विवादका कारण केही समयदेखि अस्तव्यस्त बनेको अवस्थामा अन्ततः समाधानतर्फ उन्मुख भएको छ। लामो समयदेखि करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले तलब नपाएको भन्दै आन्दोलन गरिरहेका थिए, जसका कारण नगरपालिका तथा वडा कार्यालयहरूको नियमित सेवा प्रवाहसमेत प्रभावित भएको थियो ।

उक्त समस्याको समाधानका लागि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको सक्रिय पहलमा आइतबार नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले महत्वपूर्ण निर्णय गरेको छ। बैठकबाट करारका कर्मचारीहरूको बाँकी बक्यौता रहेको तलब तथा भत्ता एक हप्ताभित्र अनिवार्य रूपमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख जैसवालले जानकारी दिनुभयो ।

कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीहरू विगत केही महिनादेखि तलबभत्ता भुक्तानी नहुँदा आन्दोलित थिए। असन्तुष्ट कर्मचारीहरूले कार्तिक महिनादेखि नै नगरपालिका मातहतका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय तथा मुख्य नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै आएका थिए ।

यसले सर्वसाधारण नागरिकलाई आधारभूत सेवा लिनसमेत कठिनाइ भएको थियो। कर्मचारीहरूको भनाइ अनुसार, यसअघि भएको आन्दोलनका क्रममा दीपावली तथा छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने नगरपालिकाबाट लिखित आश्वासन दिइएको थियो। तर सो आश्वासन कार्यान्वयन नभएपछि उनीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएको बताएका थिए।

लामो समयदेखि निरन्तर सेवा दिँदै आए पनि पारिश्रमिक नपाउँदा आफ्नो दैनिक जीवनयापन नै प्रभावित भएको कर्मचारीहरूको गुनासो थियो।
यसैबीच, आइतबार बसेको कार्यपालिका बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।

बैठकबाट कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर पीडित बनेका परिवारलाई रु. १ लाख ५० हजार राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, ज्योति डिस्टिलरीमा भएको ब्वायलर विस्फोटका कारण मृत्यु भएका पीडित परिवारलाई पनि रु. १ लाख ५० हजार राहत प्रदान गर्ने निर्णय भएको नगर प्रमुख जैसवालले बताउनुभयो।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख अजय प्रकाश जैसवालले ज्योति डिस्टिलरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो। साथै, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

नगर प्रमुखको पहल र कार्यपालिका बैठकका निर्णयसँगै लामो समयदेखि जारी कर्मचारी तलब विवाद अन्त्य हुने अपेक्षा गरिएको छ। अब एक हप्ताभित्र तलबभत्ता भुक्तानी भएसँगै आन्दोलन स्थगित भई नगरपालिका सेवा प्रवाह पुनः सहज हुने विश्वास गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस