सर्लाही, २८ पुस। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शिक्षा क्षेत्रलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। जिरो दरबन्दीमा सञ्चालन भइरहेका विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय युवाहरू आन्दोलित बनेका छन्। गाउँपालिकामा जिरो दरबन्दीका पाँच वटा विद्यालय रहेका छन् तर ती विद्यालयमा कार्यरत शिक्षकहरूलाई सेवा सुविधाबाट बञ्चित गरिएको आरोप लागेको छ।
आन्दोलनरत शिक्षकहरूका अनुसार गाउँपालिकाले स्वयम्सेवक शिक्षक भर्नाका लागि आवेदन खुलाएपछि जिरो दरबन्दीका विद्यालयमा कार्यरत ६ जना शिक्षकले फारम भरेका थिए। उनीहरू लिखित परीक्षा पास गर्न सफल भए पनि मौखिक परीक्षामा असफल गराइएको आरोप छ। शिक्षकहरूको दाबी अनुसार मौखिक परीक्षामा पास गराइदिने नाममा प्रति शिक्षक दुई लाख दश हजार रुपैयाँ घुस मागिएको थियो।
आरोप अनुसार उक्त रकम गाउँपालिकाको योजना शाखा प्रमुख पच्चुलाल माझी र शिक्षा प्रशासन शाखाका कर्मचारी देनकुमार महतोले मागेका थिए। तर मागिएको रकम नदिएपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोको निर्देशनमा जिरो दरबन्दीका सबै शिक्षकहरूलाई मौखिक परीक्षामा अनुत्तीर्ण गराइएको शिक्षकहरूको भनाइ छ।
शिक्षकहरूले पच्चुलाल माझी र देनकुमार महतो गाउँपालिका अध्यक्ष महतोका निकट व्यक्ति भएको दाबी गरेका छन्। देनकुमार महतो अध्यक्ष महतोका फुफुको छोरा भएको र दुवै करारका कर्मचारी रहेको बताइएको छ। चन्द्रनगर–६ का स्थानीय सुवोध कुमार कर्णका अनुसार अध्यक्ष महतोले ती दुई जनालाई विभिन्न भर्ना प्रक्रिया तथा बजेट निर्माणमा कमिशन उठाउने उद्देश्यले प्रयोग गर्दै आएको आरोप छ।
जिरो दरबन्दीका विद्यालयमा कार्यरत शिक्षिका सविता मल्लिकले अध्यक्ष महतोले स्वयम्सेवक शिक्षक भर्ना गर्दा पास गराइदिने नाममा उम्मेदवारहरूबाट लाखौँ रुपैयाँ असुल गरेको आरोप लगाइन्। उनका अनुसार जिरो दरबन्दीका विद्यालयका शिक्षकहरूले दुई लाख रुपैयाँ नदिएकै कारण सबैलाई अनुत्तीर्ण गराइएको हो। साथै शिक्षक छनौट समिति नै दश लाख रुपैयाँमा ‘बिक्री’ भएको दाबी समेत उनले गरेकी छन्।
यसअघि जिरो दरबन्दीका विद्यालय सञ्चालनका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराइँदै आएकोमा पछिल्लो समय सेवा सुविधा कटौती गरी एक लाखमा झारिएको छ। यसले शिक्षकहरू माथि श्रम शोषण र महिला विभेद भएको जिरो दरबन्दीका विद्यालयमा कार्यरत शिक्षिका प्रमिल्ला महतोले बताइन्। उनका अनुसार उक्त निर्णय पनि अध्यक्ष महतोकै निर्देशनमा भएको हो।
यसै विषयलाई लिएर गत बिहीबार चन्द्रनगरका युवाहरू, जिरो दरबन्दीका विद्यालयका शिक्षक तथा अभिभावकहरूले गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले “भ्रष्टाचारी गाउँपालिका अध्यक्ष राजकुमार महतो मुर्दावाद” लगायतका नारा लगाएका थिए। सो क्रममा गाउँपालिका अध्यक्ष महतो र प्रदर्शनकारीहरूबीच भनाभन समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आन्दोलनरत पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक र आर्थिक चलखेलबाट मुक्त गरिनुपर्ने भन्दै संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।


