काठमाडौं, २९ पुस। भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए।
आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिएका छन् ।
आगो एकदमै भीषण हुँदा उनीहरूलाई ज्यान जोगाउन गाह्रो भएको उनकाे भनाइ छ।
मृत्युु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, दुई छोरी राधा (१६) र रेणुका (१०) तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ। यस्तै, सोही गाउँका काशीराम विक (४६), उनकी श्रीमती टीका विक (३२), छोरी अनु (११) र छोरा किरण (७) को पनि ज्यान गएको छ।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार विस्फोटपछि आगलागी फैलिँदा शवहरू क्षतविक्षत भएका थिए । हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ। घटनास्थलमा भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान गरिरहेका उनले जानकारी दिए ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको वडा नम्बर २ का वडाध्यक्षमेक बहादुर बुढाथोकीले जानकारी दिए ।
वडाध्यक्ष बुढाथोकीका अनुसार उनीहरुको २७ गते नै आगलागीमा परेर मृत्यु भएतापनि ठेगाना खुल्न सकेको थिएन । ९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडा भित्र पर्ने सामुदायीक विद्यालय तथा सरकारी कार्यालयह शोक विदा दिइएको छ ।


