
रुपन्देही, १० चैत। बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा हुलाकी सडक रोकेर आन्दोलन गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ । सो झडपमा ३ जना स्थानीयसँगै ११ प्रहरी घाइते भएका छन् ।
भारतीय सीमा क्षेत्रबाट खुलेयाम लागुऔषध भित्रिएर आफ्ना बालबालिका कुलतमा लागेको भन्दै बाटो छेकेर स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र ११ जना प्रहरीसहित केही स्थानीय घाइते भएको त्यहाँस्थित पत्रकार यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
लागुऔषध कारोबारविरुद्ध आक्रोशित स्थानीयले हुलाकी सडक अवरुद्ध गरेपछि सडक खुलाउन पुगेको प्रहरी टोली र स्थानीयबीच विवाद चर्किँदै झडप भएको हो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
स्थानीयका अनुसार पछिल्लो समय भारतबाट भित्रिएको लागुऔषध, विशेषगरी ब्राउन सुगर र कोरेक्सको प्रयोग बढ्दै गएको छ । सोही कारण दुई जनाको ज्यान गएको भन्दै आक्रोशित स्थानीय सडकमा उत्रिएका हुन् ।
स्थानीयले भारतसँग जोडिएको सीमावर्ती नाका लौकही हुँदै हुने लागुऔषध ओसारपसार पूर्ण रूपमा रोक्न माग गरेको तर सडक नै रोकेर आन्दोलन गरेपछि यस्तो अवस्था आएको घटनास्थलमा रहेका पत्रकार सापकोटाले बताए । प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।
