लाइसेन्स पासमा अनियमितता, प्रमुखको जिम्मेवारी खोसियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (१० घण्टा अघि)
  • १०७ पटक पढिएको
लाइसेन्स पासमा अनियमितता, प्रमुखको जिम्मेवारी खोसियो

इटहरी, १७ चैत। इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको उक्त कार्यालयमा बिचौलियाको अवैध समन्वय र कर्मचारीको मिलेमतोमा अनुत्तीर्ण भएकालाई पनि उत्तीर्ण गराइने गरेको खुलेको हो । यस विषयमा अनुसन्धान, छानबिन र कारबाही गर्ने क्रममा कार्यालय प्रमुख तथा नवौँ तहका अधिकृत सतीश सत्याललाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयले छानबिन समिति गठन गरेर थप अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार विशेषगरी लाइसेन्स बनाउन गरिने स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको उजुरीका आधारमा मन्त्रालयको निर्णयअनुसार सत्याललाई मन्त्रालय तानिएको हो । मन्त्रालयमा तानिएपछि उहाँलाई हाल कुनै जिम्मेवारी दिइएको छैन ।

मन्त्रालयले गरेको छड्के अनुगमनका क्रममा सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएको भेटिएपछि सत्यालमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

सचिव तामाङका अनुसार लाइसेन्स लिँदा वा नवीकरण गर्दा अनिवार्य रूपमा गरिने स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराउने गरेको आरोप कार्यालय प्रमुख सत्यालसहित केही कर्मचारीमाथि लागेको छ । बिचौलियाको समन्वयमा कार्यालय प्रमुख सत्याल, इन्जिनियर गोपीचन्द्र बोहोरा, छैटौँ तहका अधिकृत शक्ति रेग्मी, श्याम लामालगायतको मिलेमतोमा इटहरीमा फेल भएकालाई समेत पास गराई लाइसेन्स दिने गरेको आरोप छ ।

यस विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निर्देशनमा छड्के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही कैफियत र अनियमितता भेटिएपछि पहिलो चरणमा सत्याललाई मन्त्रालय तानिएको सचिव तामाङले जानकारी दिनुभयो ।

चौतर्फी गुनासो बढेपछि सचिव तामाङकै नेतृत्वमा गरिएको अनुगमनमा अनियमितता पुष्टि भएपछि सत्याललाई मन्त्रालय तानिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यस विषयमा मन्त्रालयले यातायात व्यवस्था महाशाखाकी प्रमुख उर्मीला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन दुई साताको समय दिइएको छ ।

समितिले बुझाउने प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ । यस क्रममा कार्यालय प्रमुख सत्याललाई मन्त्रालय तानिएपछि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई कार्यालयको निमित्त जिम्मेवारी दिइएको छ ।

यसअघि कोशी प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रेबतीरमण भण्डारीले कार्यालय प्रमुख सत्याल, इन्जिनियर गोपीचन्द्र बोहोरा, छैटौँ तहका अधिकृत श्याम लामा लगायतका कर्मचारीलाई इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा जिम्मेवारी दिनुभएको थियो । केही कर्मचारी करिब दुई दशकदेखि इटहरी, बिर्तामोडलगायत आसपासका यातायात र मालपोत कार्यालयमै कार्यरत रहेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट काजमा इटहरी आएका अधिकृत लामालाई तत्कालीन मन्त्री भण्डारीले इटहरीमै दरबन्दी कायम गरी सरुवा गरिदिएको पनि खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस