रिहा भए ओली र लेखक, सर्वोच्चको आदेशपछि पनि छानबिन जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (३ घण्टा अघि)
  • ८४ पटक पढिएको
रिहा भए ओली र लेखक, सर्वोच्चको आदेशपछि पनि छानबिन जारी

काठमाडौं, २९ चैत। सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हिरासतबाट रिहा भए पनि उनीहरूमाथिको अनुसन्धान प्रक्रिया भने जारी रहेको प्रहरीले जनाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले थप म्याद नथप्न आदेश दिएपछि दुवै जना हाजिर जमानीमा छुटेका हुन्। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीका अनुसार उनीहरूको बयान लिने काम सम्पन्न भइसकेको छ भने अब साक्षी संकलन, कागजात अध्ययन र अन्य प्रमाण जुटाउने कार्य बाँकी छ। आवश्यक परेमा उपस्थित हुने सर्तमा दुवै जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

ओलीको स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राख्दै अदालतले लामो समय हिरासतमा राख्नु उचित नहुने ठहर गरेको थियो। उनी शिक्षण अस्पतालमा उपचाररत थिए।

उनीहरूमाथि भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हो। सोही घटनाको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले दुवै जनालाई चैत १४ गते पक्राउ गरेको थियो।

प्रहरीले अनुसन्धान पूरा भएपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनेछ। पर्याप्त प्रमाण भेटिएमा अदालतमा मुद्दा दर्ता हुने र त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्नेछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस