
वीरगञ्ज, २९ चैत। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
मन्त्री गीता चौधरी को निर्देशनमा तय गरिएको नयाँ दरअनुसार गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा र चैते धानको मूल्य ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।
यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुने जनाइएको छ। यदि चिस्यान १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य ५५ रुपैयाँ ८ पैसा बढाइएको छ। यसअघि गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको मूल्य २ हजार ८ सय ६९ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो ।
