दाइजो लिनु पनि अपराध हो: उपसभामुखको चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (३ घण्टा अघि)
  • ७४ पटक पढिएको
दाइजो लिनु पनि अपराध हो: उपसभामुखको चेतावनी

काठमाडौं, ०३ वैशाख। उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने बताएकी छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी हुन् ।

‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उपसभामुख ठाकुरले लेखेकी छन्, ‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ ।’

समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैंबाट गर्नुर्नेमा उनले जोड दिएकी छन् ।

‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ,’ उपसभामुखको भनाइ छ, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ ।’

आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख गरेको देख्न नपाइएको उनले उल्लेख गरेकी छन् ।

‘दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु,’ उपसभामुख ठाकुरले भनेकी छन्, ‘कृपया दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस