पश्चिम एसियाको तनावले नेपाली बजार प्रभावित, ग्यास र खाद्यान्न महँगियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (६ दिन अघि)
  • ५३ पटक पढिएको
पश्चिम एसियाको तनावले नेपाली बजार प्रभावित, ग्यास र खाद्यान्न महँगियो

वीरगञ्ज, ०६ बैशाख। पश्चिम एसियामा जारी द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपाली उपभोक्ताको भान्सासम्म आइपुगेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यवृद्धि र इन्धन महँगीसँगै ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

इन्धनको मूल्य बढेसँगै ढुवानी भाडा महँगो भएको छ भने सार्वजनिक यातायातको भाडादरसमेत वृद्धि भएको छ। यसको सीधा असर बजारमा देखिँदा सर्वसाधारण उपभोक्ता महँगीको चर्को मारमा परेका छन्।

विशेषगरी खाना पकाउने ग्यासको मूल्यमा उल्लेख्य वृद्धि भएको छ, जसले सहरी क्षेत्रका घरपरिवारको भान्सामा थप आर्थिक भार थपेको छ। त्यस्तै, पछिल्लो समय खाद्यान्न, तरकारी र फलफूलको मूल्यमा पनि अस्वाभाविक वृद्धि देखिएको छ।

नेपाल खुद्रा व्यापार सङ्घ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको (२०८२ मङ्सिरदेखि २०८३ वैशाखसम्म) तथ्यांकअनुसार बजार मूल्य नियन्त्रण बाहिर जान थालेको संकेत देखिएको छ।

खाद्यान्नतर्फ जिरा मसिनो, सोना मन्सुली र त्रिशूली पोखरेली चामलको मूल्य स्थिर रहे पनि बासमती चामलको मूल्य भने बढेको छ। मङ्सिरमा प्रतिकिलो १७० रुपैयाँ रहेको बासमती चामल चैतसम्म आइपुग्दा १८० रुपैयाँ पुगेको छ।

दाल तथा गेडागुडीमा भने मिश्रित प्रभाव देखिएको छ। चनाको दालको मूल्य १७० रुपैयाँबाट घटेर १५० रुपैयाँमा झरेको छ भने सेतो केराउ पनि १४० बाट १३५ रुपैयाँमा आएको छ। तर, मुंग दाल र मुंग खोस्टामा प्रति किलो २० रुपैयाँसम्म वृद्धि भएको छ भने राजमा २५० बाट बढेर २६० रुपैयाँ पुगेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको मजबुती र ढुवानी खर्चमा वृद्धि नै मूल्यवृद्धिका प्रमुख कारण हुन्। यसले दीर्घकालीन रूपमा उपभोक्ताको क्रयशक्ति घटाउने र बजारमा थप दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस