वीरगंजमा खण्डहर बनेको महानगरद्वारा सफाइ सुरु, पीडित अदालत जाने तयारीमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (५ दिन अघि)
  • ७९ पटक पढिएको
वीरगंजमा खण्डहर बनेको महानगरद्वारा सफाइ सुरु, पीडित अदालत जाने तयारीमा

वीरगंज, ०७ वैशाख। सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथको हेटौँडा वीरगंज सडकका अतिक्रमित घर टहरा हटाउने अभियान अन्तर्गत आइतबार बिहानै वीरगंजमा घरटहरा भत्काएको छ ।

सरकारी कार्यालयका भवनमा समेत डोजर लगाएर चलाइएको अभियानमा १ हजार २ सय घर भत्किएपछि वीरगंज अस्तव्यस्त भएको छ । गण्डक क्षेत्रदेखि भन्सार क्षेत्रसम्मको ७ किलोमिटर क्षेत्रमा एकसाथ पाँच ठाउँबाट १० वटा डोजरले घर टहरा भत्काइएको हो ।

सडक डिभिजनले १ हजार २ सय ८५ घर भत्काउने भने पनि १ हजार २ सयको हाराहारीमा आइतबार घर भत्काएपछि सर्वसाधारणको सडकमा बास भएको छ । अर्कातिर भत्किएको धूलो, फोहोर र सामग्रीले बजार नै अस्तव्यस्त भएको छ ।

अस्तव्यस्त देखिएको वीरगंज बजार सरसफाइमा महानगरले काम सुरु गरेको छ । यता, ७ किलोमिटर क्षेत्रका सर्वसाधारण आज बिहानै बैठकमा जुटेका छन् र सरकारलाई मुद्दा दर्ता गर्ने छलफल भइरहेको बताइएको छ ।
‘२५–२५ मिटर नाप्न लागिरहेका छन्, ठाउँठाउँमा छलफल भइरहेको छ, सरकारलाई मुद्दा हाल्ने विषयमा सबै एकमत छन्,’ एक घरधनीले भने, ‘जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र सडक डिभिजन कार्यालयलाई संयुक्तरुपमा मुद्दा हाल्ने कि भनेर छलफल भइरहेको छ ।’

घर भत्काइएपछि फोहोर हटाउन मजदुरको अभाव देखिएको छ भने अर्कातिर घरका सामानहरु चोर्ने क्रम बढेको छ । चोरको बिगबिगी भइरहेको छ । घर भत्किएका कारण आइतबारदेखि नै विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नभएपछि पानीको चरम अभाव देखिएको छ । इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले हिजोदेखि अवरुद्ध विद्युत सेवा सबैतिर लाइन जाँचपछि आज साँझसम्म सुचारु हुन सक्ने जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस