सडक विस्तार तीव्र: पथलैया–चुरियामाई खण्डमा अतिक्रमण हटाउन तीन दिनको समय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (४ घण्टा अघि)
  • ८८ पटक पढिएको
सडक विस्तार तीव्र: पथलैया–चुरियामाई खण्डमा अतिक्रमण हटाउन तीन दिनको समय

काठमाडौं, ०८ वैशाख। सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्गको पथलैयादेखि चुरियामाईसम्मको खण्डमा अनधिकृत रूपमा निर्माण गरिएका घर तथा टहरा हटाउन ३ दिने अल्टिमेटम दिएको छ ।

सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका संरचना हटाउन यसअघि पनि पटक-पटक सूचना जारी गरिएको थियो । तर ती संरचना अझै पनि हटाइएका छैनन् ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले वैशाख ७ गते सोमबार सूचना जारी गर्दै महेन्द्र राजमार्गको पथलैया–चुरियामाई ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्रमा सडकको केन्द्रबाट दायाँ र बायाँ दुवैतिर २५/२५ मिटरको सडक सीमाभित्र रहेका सबै घर तथा टहरा वैशाख १० गतेभित्र हटाउन निर्देशन दिएका छन् ।

कार्यालयले यसअघि २०७३ मङ्सिर १८ गते र २०८० असार ९ गतेलगायत विभिन्न मितिमा सूचना जारी गरे पनि प्रभावित पक्षले संरचना नहटाएको जनाएको छ ।

सूचनाको अटेर गरी तोकिएको समयभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाली कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्गको यो खण्डलाई चार लेन विस्तार तथा स्तरोन्नति गर्न लागेको बेला सडक सीमाभित्रका अनधिकृत संरचना हटाउने अभियान तीव्र बनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस