अवैध हतियारसहित युवक नियन्त्रणमा, कागजविहीन कार र ९ मोटरसाइकल बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (४ घण्टा अघि)
  • ५७ पटक पढिएको
अवैध हतियारसहित युवक नियन्त्रणमा, कागजविहीन कार र ९ मोटरसाइकल बरामद

काठमाडौं, ०८ वैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध नलकटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको सार्वजनिक गरेको छ। प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउसँगै कागजपत्र नभएका १ थान कार र ९ थान मोटरसाइकलसमेत बरामद गरिएको हो।

गत ३ गते साँझ करिब सवा ७ बजे बौधिमाई नगरपालिका–७, बन्कुलस्थित इँटा उद्योग नजिक सडकमा चेकजाँचका क्रममा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायत चनरमन गाउँका २० वर्षीय सूर्य कुमार दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट पाइन्टभित्र टी–सर्टले छोपेर राखिएको अवस्थामा नलकटुवा पेस्तोल फेला परेको थियो।

प्रहरीका अनुसार दासको साथबाट दुईवटा भारतीय सिमकार्ड र ओपो कम्पनीको एक मोबाइल फोन पनि बरामद गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

यसैबीच, पछिल्ला दिनहरूमा जिल्लाका विभिन्न स्थानमा गरिएको सघन चेकजाँचका क्रममा कागजविहीन १ कार र ९ मोटरसाइकल बरामद गरिएको छ। साथै, गौर बसपार्क क्षेत्रबाट अवैध भारतीय सामानसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद सवारी साधनको अनुमानित मूल्य १९ लाख ५० हजार र अवैध सामानको मूल्य करिब ९५ हजार रुपैयाँ रहेको छ। कुल २० लाख ४५ हजार ११३ रुपैयाँ बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस