
काठमाडौं, ०९ वैशाख। समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका भौतिक संरचनाको भाडा नतिर्ने व्यवसायी तथा संघसंस्थाहरूलाई बक्यौता बुझाउन अन्तिम पटक सात दिनको म्याद थप गरेको छ।
परिषद्ले बुधबार एक जरुरी सूचना प्रकाशित गर्दै रिपोर्टर्स क्लबसहित १८ वटा संघसंस्थालाई बक्यौता चुक्ता गर्न अन्तिम समय दिएको हो।
भृकुटीमण्डपभित्र रहेका पक्की स्टल, बु र भवनहरू भाडामा लिएर लामो समयदेखि बक्यौता नतिर्नेहरूलाई परिषद्ले यसअघि पटक–पटक पत्राचार र सार्वजनिक सूचनामार्फत ताकेता गरेको थियो। परिषद्को आग्रहलाई अटेर गरेपछि चैत ३० गते ती संरचनाहरूमा तालाबन्दी गरिएको थियो। त्यसलगत्तै वैशाख १ गते गोरखापत्रमा ७ दिने सार्वजनिक सूचना जारी गरिएको र भृकुटीमण्डप क्षेत्रमा समेत सूचना टाँस गरिएको परिषद्ले जनाएको छ।
परिषद्का अनुसार पहिलो पटक दिइएको सात दिनको म्यादभित्र केही व्यवसायी र संस्थाहरूले आंशिक रकम बुझाए पनि रिपोर्टर्स क्लबसहित अन्य १८ वटा संस्थाहरूले अझैसम्म बाँकी रकम दाखिला गरेका छैनन्। सोही कारण, परिषद्ले पुनः सूचना जारी गर्दै बक्यौता रहेका सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई रकम बुझाउन अन्तिम पटक सात दिनको समय दिएको हो।
थप गरिएको यो अवधिभित्र पनि अटेर गरी बक्यौता चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम सरकारी बाँकी सरह असुलउपरको प्रक्रिया अगाडि बढाइने र कडा कानुनी कारबाही गरिने चेतावनी समाज कल्याण परिषद्ले दिएको छ।

