१४ केजीभन्दा बढी चरेससहित कपिलवस्तुमा तीन दिदीबहिनी र एक पुरुष पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (३ घण्टा अघि)
  • ७२ पटक पढिएको
१४ केजीभन्दा बढी चरेससहित कपिलवस्तुमा तीन दिदीबहिनी र एक पुरुष पक्राउ

काठमाडौं, १० वैशाख। सीमावर्ती क्षेत्र कृष्णनगरनजिकैबाट अवैध लागुऔषध चरेससहित तीन दिदीबहिनी र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। भारततर्फ लैजान लागिएको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको  बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका– ६ की ३७ वर्षीया मनीषा घर्तीमगर, सोही स्थानकी ३७ वर्षीया दिलकुमारी घर्तीमगर, रुकुमपूर्व भूमे गाउँपालिका– १ की ४० वर्षीया दिलकुमारी घर्तीमगर रहेका छन्। उनीहरूसँगै रहेका ३४ वर्षीय नकुल घर्तीमगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तीनैजना महिला एउटै आमाबुबाका छोरी भएको खुलेको छ।

प्रहरीका अनुसार उनीहरू झोला र पटुकीभित्र लुकाइछिपाइ करिब १४ केजी ४२७ ग्राम चरेस बोकेर हिँडिरहेका थिए। अत्यधिक गर्मीका कारण चरेसको गन्ध आएपछि शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि निगरानी कडा पारिएको बताउँदै भने, ‘सीमानजिकै हुने अवैध गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन भइरहेको छ। यस घटनामा संलग्न सबैमाथि कडाइका साथ अनुसन्धान भइरहेको छ।’

त्यसैगरी, प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट लागुऔषध भारततर्फ लैजान खोजिएको देखिएको जानकारी दिए। ‘गर्मीका कारण आएको गन्धका आधारमा शंका गरी चेक गर्दा ठुलो परिमाणमा चरेस फेला परेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी छ,’ उनले भने। प्रहरीले बुधबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस