
वीरगञ्ज, ११ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ जना सांसद तथा दलित अधिकारकर्मीहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा १४ घण्टादेखि धर्नामा बसेका छन्।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक को प्रहरी हिरासतमा मृत्यु भएको घटनामा न्यायको माग गर्दै उनीहरू बिहीबार साँझदेखि धर्नामा बसेका हुन्।
धर्नामा बस्ने सांसदहरूमा खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिम विक र आशिष गजुरेल रहेका छन्।
सांसद सुनारले प्रहरीले श्रीकृष्ण विकको हत्या गरेको आरोप लगाएका छन्। अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका उनलाई हिरासतमा कुटपिट गरी हत्या गरिएको तथा घटनालाई दबाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी) ले दबाब दिएको पीडित पक्षलाई उद्धृत गर्दै उनले सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्।
सांसदहरूले घटनाको निष्पक्ष छानबिनका लागि सीडीओ, एसपी तथा खुर्कोटका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गर्न, साथै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। उनीहरूले सर्वसाधारणलाई पनि प्रशासन कार्यालय पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन्।
प्राप्त जानकारी अनुसार श्रीकृष्ण विकले खोटाङकी १७ वर्षीया किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए। विवाहपछि उनी सिन्धुली फर्किएका थिए। पछि ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा किशोरीको परिवारसँग छलफल गर्न पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि सिन्धुली पठाएको थियो।
ललितपुर प्रहरीका अनुसार किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण उनलाई त्यहाँ पठाइएको हो। तर वैशाख ७ गते श्रीकृष्ण विक हिरासतभित्रै मृत अवस्थामा फेला परेपछि घटनाले गम्भीर मोड लिएको छ।
यस घटनापछि मानवअधिकार, न्याय र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन् भने निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग तीव्र बन्दै गएको छ।
