
काठमाडौं, १८ वैशाख। सीमावर्ती नाकामा लागू गरिएको १०० रुपैयाँ बराबरको सामान मात्रै ल्याउन पाउने कडाइप्रति नेपाली कांग्रेसले सङ्गठित रूपमा आवाज उठाउन थालेको छ । वर्षौँदेखि निष्क्रिय रहेको भन्सार प्रावधान अचानक कडाइका साथ कार्यान्वयन हुँदा सीमावर्ती जनजीवन, साना व्यापार र दैनिक उपभोगमा गम्भीर असर परेको भन्दै कांग्रेसले त्यस विरुद्ध दबाब अभियान सुरु गरेको हो ।
शुक्रवारदेखि सुरु हुने पार्टीको “ग्रिन टेबल” नामक संवाद कार्यक्रमको पहिलो विषय नै सिमानामा लगाइएको कर सम्बन्धी व्यवस्थालाई बनाइएको छ ।
कार्यक्रममा सीमा तथा अन्तर्देशीय व्यापार विज्ञ राजन शर्मा र सीमा क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेखा कुमारी यादव वक्ताका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा सहजकर्ताको भूमिका पनि मधेसमा सक्रिय काँग्रेसका युवा तथा बौद्धिक नेता कन्चन झाले निर्वाह गर्ने भएका छन् ।
काँग्रेस सभापति गगनकुमार थापाले पनि १०० रुपैयाँको सीमा हटाएर व्यवहारिक नयाँ विकल्प खोज्न सबैलाई आग्रह गरेका छन् । उनका अनुसार अहिलेको व्यवस्थाले सीमावर्ती नागरिकहरूलाई अनावश्यक सास्ती दिएको छ र जनजीवनमा प्रत्यक्ष असर पारेको छ ।
कांग्रेसले सीमामा बसोबास गर्ने नागरिकको अनुभव, पीडा र सरोकारलाई उत्तरदायी तथा तथ्य धारित भएर नीति निर्माण तहसम्म पुर्याउने गरी यस विषयलाई उठान गर्न थालेको छ ।
सीमावर्ती जिल्लाका नागरिकहरू परम्परादेखि छिमेकी बजारमा दैनिक उपभोग्य सामग्री, औषधि, लत्ताकपडा र साना सामान किनमेल गर्दै आएका छन् । तर १०० रुपैयाँको सीमा कडाइका साथ लागू गरिएपछि सामान्य घर खर्चका वस्तु ल्याउन समेत कठिनाइ भएको गुनासो अत्यधिक बढेको छ ।
स्थानीय बासिन्दाले यो व्यवस्था व्यवहारिक नभएको बताइरहेका छन् । अहिलेको मूल्यवृद्धिको समयमा १०० रुपैयाँले सामान्य खाद्यवस्तु समेत नआउने अवस्था रहेको उनीहरूको भनाइ छ ।
कांग्रेसले जनजीविकामा प्रत्यक्ष नकारात्मक असर परेको यस विषयलाई उठान गर्न सडक आन्दोलनभन्दा संवाद, तथ्य सङ्कलन र नीतिगत दबाबको बाटो रोजेको छ । “ग्रिन टेबल” मार्फत सीमावर्ती क्षेत्रका व्यवसायी, उपभोक्ता, नागरिक समाज र विज्ञहरूलाई एकै ठाउँमा ल्याएर कांग्रेसले सरकारमाथि दबाब सिर्जना गर्न लागेको हो ।
पार्टी स्रोतका अनुसार यो अभियान केवल विरोधका लागि विरोध नभई व्यवहारिक विकल्पसहितको बहसमा केन्द्रित हुनेछ । सीमा नीतिलाई समयसापेक्ष बनाउने, स्थानीय जीवनशैली बुझ्ने र राजस्व तथा जनजीवनबिच सन्तुलन खोज्ने विषय उठाइनेछ ।
सरकारले राजस्व चुहावट रोक्न र अवैध आयात नियन्त्रण गर्न कडाइ गरेको दाबी गरे पनि त्यसको असर सर्वसाधारणमाथि परेको भन्दै आलोचना बढेको छ । सीमावर्ती क्षेत्रमा बस्ने नागरिकहरूलाई तस्करसँग तुलना गरेर व्यवहार गर्न खोजिएको भावना समेत देखिन थालेको छ ।
विशेषगरी तराई–मधेस र सीमावर्ती जिल्लामा यो मुद्दा जनभावनासँग जोडिन थालेको छ । १०० रुपैयाँको सीमा अब केवल भन्सार नियमको विषय मात्र नभई जनजीवन, रोजगारी, स्थानीय अर्थतन्त्र र राज्यको संवेदनशीलतासँग जोडिएको प्रश्न बनेको छ ।
