
काठमाडौं, १९ वैशाख। रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह-सचिव हेमराज अर्यालले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर कार्यालयको धारणा सार्वजनिक गरेका हुन् ।
‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस हृदयविदार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो ।’
घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)कै नेतृत्वमा रहेको गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । ‘छानबिन समिति गठन भएलगत्तै गृहमन्त्रालयले सोही दिन आधिकारिक प्रेस विज्ञप्ति जारी गरी घटनाको विस्तृत विवरण प्रस्तुत गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
यस्तै छानबिन समितिलाई दिइएको तीन दिनको समय आजै सकिन लागेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण प्रतिवद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।
सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
‘यस दु:खको घडीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

