ट्रेड युनियन खारेजविरुद्ध अदालत जाने तयारीमा कर्मचारी संगठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
ट्रेड युनियन खारेजविरुद्ध अदालत जाने तयारीमा कर्मचारी संगठन

काठमाडौं, २२ वैशाख। निजामती प्रशासनलाई राजनीतिकरण गरेको बद्नामी खेपिरहेका कर्मचारी ट्रेड युनियनलाई सरकारले अध्यादेश मार्फत् खारेज गरिदिएपछि प्रशासनिक क्षेत्र तरंगित भएको छ ।

जो यी संगठनमा बसेर वा त्यस्तो संगठनको प्रभावमा लाभ लिइरहेका थिए ती कर्मचारीहरू सबैभन्दा बढी यो निर्णयबाट आक्रोशित छन् ।

तर, सरकारी कर्मचारी भएकाले सरकारले ल्याएको अध्यादेशको घोषित विरोध र प्रदर्शन चाहिँ गरेका छैनन् ।

यसअघि त्रिशंकु संसद् रहेको बेला राजनीतिक गठबन्धनका सरकार हुँदा कर्मचारीहरू आफ्ना प्रतिकूल निर्णयमा सडक प्रदर्शनमा नै आउँथे । यसपटक उनीहरूको विरोधका स्वर चाहिँ झिनो भएको छ । अब उनीहरू कानुनी लडाईँ लड्ने योजनामा छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत निजामती कर्मचारीको ट्रेड युनियन व्यवस्था खारेजको गरिएको छ ।

निजामती कर्मचारीहरु संगठित भएर ट्रेड युनियन गठन गर्ने ऐनका व्यवस्थाहरु अध्यादेश मार्फत हटाइएको छ ।

निजामती कर्मचारीको ट्रेड युनियन गठन सम्बन्धी ऐनको व्यवस्था हटाएर गुनासो सुन्ने प्रावधान राखिएको छ ।

दफा ५३ मा रहेका निजामती कर्मचारीको ट्रेड युनियन गठनको व्यवस्था थियो । उक्त दफामा रहेका सबै व्यवस्था हटाएर ‘गुनासो सुन्ने’ प्रावधान राखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कर्मचारीले गुनासो सुन्ने र १५ दिनभित्रमा त्यसबारे जानकारी गराउने गरी व्यवस्था गरिएको छ ।

सरकारले कुनैपनि प्रकृतिमा कर्मचारीको ट्रेड युनियन गठन गर्न नपाउने गरी अध्यादेश ल्याएपछि कर्मचारी संगठनहरु त्यसविरुद्ध कसरी अघि बढाउने भन्ने छलफलमा छन् ।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले कर्मचारी संगठनहरु संयुक्त रुपमा विरुद्ध कानुनी लडाईं जाने बताइन् । ‘कर्मचारीको बोल्न पाउने अधिकार कटौती भएको छ । संविधानले दिएको अधिकार अनुसार संगठित हुने बाटो बन्द गरिएको छ,’ दाहालले अनलाइनखबरसँग भनिन्,‘हामी सडकमा जाँदैनौं । कानुनी लडाईं लड्छौं ।’

संविधानको धारा १७ (२) ले दिएको अधिकार अनुसार संघ संस्था खोल्न पाउनुपर्ने कर्मचारी संगठनहरूको दाबी छ ।

संविधानको त्यही व्यवस्थामा रहेर श्रमिक अभ्यास गरिरहेको कर्मचारी संगठनहरूको दलील छ ।

संविधानको उक्त व्यवस्थालाई कर्मचारी संगठनले आफू अनुकूल व्याख्या गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निचोड छ । श्रमिकलाई दिएको अधिकारलाई कर्मचारीसँग जोडेर व्याख्या गरिएको भन्दै मन्त्रालयले कर्मचारी संगठनहरुको दाबीको प्रतिवाद गरेको छ ।

संविधानको धारा ३४ ले श्रमिकलाई ट्रेड युनियन खोल्ने र सामूहिक सौदावाजी गर्ने अधिकार दिएको छ ।

यही व्यवस्था देखाउँदै मन्त्रालयले कर्मचारीको ट्रेड युनियन हटाउनुपर्नुको कारण खुलाउँदै भनेको छ,‘श्रमिक’ भन्नाले पारिश्रमिक लिई शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुरलाई बुझिन्छ ।

निजामती कर्मचारीहरू कामदार वा मजदुर होइनन् । उनीहरू सरकारका अभिन्न अंग र ‘स्थायी सरकार’ हुन् । कर्मचारीहरू आफैँ सरकारको परिभाषाभित्र पर्ने भएकाले रोजगारदाता र कामदारको परिभाषामा उनीहरूलाई समेट्न मिल्दैन ।’

प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल कर्मचारीको ट्रेड युनियन र श्रमिक ट्रेड युनियन फरक फरक विषय भएको हुँदा पनि एकै प्रकारले व्याख्या गर्न नहुने बताए ।

श्रमिकका लागि संविधानको धारा ३५ र कर्मचारीका लागि धारा ५१ आकर्षित हुने हुँदा समान रुपमा बुझ्न नहुने दाहालले बताए । दाहालले अनलाइनखबरसँग भने,‘श्रमिकको ट्रेड युनियनको अधिकार खारेज हुन सक्दैन । आइएलओ अभिसन्धीले पनि बाँधिएको हुन्छ । सार्वजनिक सेवा प्रवाहमा रहेको समस्या हटाउने गरी कर्मचारी ट्रेड युनियन हटाउने नीति सरकारले लिएको देखिन्छ ।’

सेवा प्रवाहमा हुनुपर्ने निष्पक्षता र प्रभावकारितालाई मध्यनजर गरेर कर्मचारीको ट्रेड युनियन हटाइएको हुँदा श्रमिकसँग जोडेर व्याख्या गर्न नहुने प्रशासकीय अदालतका पूर्वअध्यक्ष दाहालको तर्क छ ।

कर्मचारीको ट्रेड युनियनका सम्बन्धमा रहेका ऐनमा रहेका दफा ८ (ज १) र ९ (ज २) र दफा ५२ को ‘प्रतिनिधित्व गर्नमा प्रतिबन्ध’ व्यवस्था हटाइएको छ । दफा ८ (ज १) मा ‘निजामती कर्मचारीको ट्रेड युनियन’ र ९ (ज २) मा ‘निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन’ लाई के भनी बुझिने बारे व्यवस्था राखिएको थियो ।

दफा ५२ मा रहेको प्रतिनिधित्व गर्नमा प्रतिवन्धमा रहेको व्यवस्था हटाइएको छ । उक्त दफामा रहेको ‘निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको तर्फबाट गरिने प्रतिनिधित्व र निजामती कर्मचारीको पदीय दायित्वको आधारमा गर्नुपर्ने कुनै कार्य गर्नमा यस दफाले बाधा पुर्‍याएको छैन’ भनी उल्लेख गरिएको व्यवस्था हटाइएको छ ।

राजपत्रांकित तृतीय श्रेणी वा त्यसभन्दा मुनिका कर्मचारी ट्रेड युनियनको सदस्य हुन पाउने विधेयकमा व्यवस्था गरिएको थियो । निजामती कर्मचारी युनियनहरुको दर्ता हुने स्थान श्रम तथा रोजगार प्रवर्द्धन विभागलाई तोकिएको थियो ।

निजामती कर्मचारीहरुले छनोट गरेको आधारमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन हुने व्यवस्था राखिएको थियो ।

निजामती कर्मचारी ट्रेड युनियनलाई महासंघ गठन गर्ने अधिकार दिइएको थियो । महासंघको सदस्य बन्ने, अन्तर्राष्ट्रिय संघ वा महासंघमा सदस्य बन्ने र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार आधिकारिक ट्रेड युनियनमा हुने ऐनमा व्यवस्था गरिएको थियो ।

संगठित हुने अधिकार खोसिएको भन्दै त्यस विरुद्ध भावी कदमका लागि कर्मचारी संगठनहरूले छलफल सुरु गरेका छन् ।

कर्मचारीहरूको संयुक्त सञ्जालको बैठक सोमबार बसेको थियो । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्ष उत्तमप्रसाद कटुवालका अनुसार सरकारले ल्याएको अध्यादेशको विरोधमा तत्काल वक्तव्य जारी गर्ने र क्रमशः थप छलफल गरेर अघि बढ्ने निर्णय भएको छ ।

स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरु वर्तमान सरकारलाई सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै कटुवाल भन्छन्,‘सरकारले विधिलाई कुल्चेको छ । पार्टी सदस्यता लिएर कर्मचारी बन्न पाएका होइनौं । लोकसेवा पास गरेर भएका हौं ।’ दलीय कर्मचारी संगठनका रुपमा बुझ्ने भाष्य गलत भएको कटुवालको दाबी छ ।

नागरिकको हकमा संघ र संस्था खोल्ने अधिकार दिएजस्तै कर्मचारीलाई त्यस्तो अधिकार नहुने मन्त्रालयको दाबी छ ।

नागरिक सरह असिमित अधिकार निजामती कर्मचारीलाई नहुने सरकारी पक्षको भनाई छ ।

कर्मचारीलाई बोल्न पाउने अधिकार रहेको र त्यही व्यवस्था सरकारले खोसेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष भवानी न्यौपाने दाहाल बताउँछिन् । सरकारले निजामती कर्मचारीको गुनासो सुन्ने व्यवस्था राखेर संगठित हुने प्रावधान हटाएको छ । गुनासो सुन्ने व्यवस्थाप्रति कर्मचारी संगठनहरुको विश्वास मानिरहेका छैनन् ।

दाहाल भन्छिन्,‘जुन सरकारले कर्मचारीलाई पीडा दिएको छ । त्यही सरकारले हाम्रो गुनासो सुन्छ भनेर कसरी विश्वास गर्ने ?’

अध्यादेश विरुद्ध एकत्रित भएका छ कर्मचारी संगठनले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी समेत गरेका छन् ।

सरकारले ल्याएको अध्यादेशले कर्मचारी संगठित हुने अधिकार खोसिएको भन्दै अन्तर्राष्ट्रिय श्रमिक संगठनलाई ध्यानाकर्षण गराएको कर्मचारी संगठनहरुले जानकारी गराएका छन् ।

‘यो विषय अन्तराष्ट्रियकरण गरिसकेका छौं । कर्मचारी ट्रेड युनियन खोल्न नपाउने विषय हाम्रो मात्रै विषय रहेन,’ कर्मचारी संगठनको अध्यक्ष दाहाल भन्छिन्,‘महासंघका सबै घटकले हामीलाई साथ दिएका छन् ।’

अन्तर्राष्ट्रिय सन्धि र अभिसन्धिमा अहिलेसम्म ११ वटा आइएलो अभिसन्धिहरू अनुमोदन गरे तापनि सरकारी सेवामा ट्रेड युनियनको वकालत गर्ने अभिसन्धिहरू अनुमोदन नगरेको सरकारको भनाई छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस