पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीए मृत फेला, हत्या आशंका

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २४, बिहिबार (१ घण्टा अघि)
  • ४६ पटक पढिएको
पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीए मृत फेला, हत्या आशंका

काठमाडौं,२४ वैशाख। पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।

मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।

लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु अधिकारीले हालैको विधानसभा निर्वाचनमा भाजपा प्रवेश गरी ममतालाई नै हराइदिएका थिए ।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।

अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय मिडियाहरुले लेखेका छन् ।

घटनामा उनका चालक बुद्धदेव बेरासमेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कोलकातास्थित अस्पतालमा भर्ना गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेका थिए ।

घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूमा तीव्र आक्रोश फैलिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस