जिल्ला समन्वय समिति रुपन्देहीको जग्गा अतिक्रमणमा, हटाउन पहल सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
जिल्ला समन्वय समिति रुपन्देहीको जग्गा अतिक्रमणमा, हटाउन पहल सुरु

काठमाडौँ, २५ बैशाख। जिल्ला समन्वय समिति रुपन्देहीको स्वामित्वमा रहेको २ बिघा  २ कठ्ठा ९ धुर जग्गा अतिक्रमणमा परेको भन्दै खाली गराउनका लागि बुटवल उपमहानगरपालिका लाई पत्राचार गरिएको छ।

२०५० साल फागुन ११ गते तत्कालीन जिल्ला विकास समिति रुपन्देहीको नाममा दर्ता भएको उक्त जग्गा लामो समयदेखि अतिक्रमणमा परेको बताइएको छ।

बुटवल–११ देवीनगर क्षेत्रमा रहेको उक्त जग्गामध्ये वडा नम्बर ११ स्थित कित्ता नम्बर १५९ को १ बिघा  २ कठ्ठा ४ धुर तथा कित्ता नम्बर १६० को १ बिघा  १० कठ्ठा ५ धुर जग्गा अतिक्रमणमा परेको जिल्ला समन्वय समितिले जनाएको छ।

रुपन्देहीका जिल्ला समन्वय अधिकारी यम बहादुर कुँवरले आफ्नो लालपुर्जासहित अतिक्रमित जग्गा खाली गराउन बुटवल उपमहानगरपालिकालाई पत्राचार गरिएको जानकारी दिए। अब यस विषयमा स्थानीय तहले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए।

उनका अनुसार लामो समयदेखि अतिक्रमणमा परेको जग्गाको यकिन विवरण सङ्कलन गरी कानुनअनुसार आवश्यक कदम चालिनेछ।

यता बुटवल उपमहानगरपालिका का प्रवक्ता शिवराज सुवेदी राना ले बुटवल क्षेत्रमा विभिन्न सरकारी जग्गा अतिक्रमणको समस्या रहेको बताए। उनले प्राविधिक अध्ययनपछि मात्रै कुन स्थानको कति जग्गा अतिक्रमणमा परेको हो भन्ने यकिन हुने र त्यसपछि कार्यपालिका बैठकबाट थप निर्णय गरिने जानकारी दिए।

उनले भने, “बुटवलमा जिल्ला समन्वय समितिको अढाई बिघा भन्दा बढी जग्गा अतिक्रमणमा परेको विषय चर्चामा छ। तर, वास्तविक रूपमा कुन स्थानमा कति जग्गा अतिक्रमणमा परेको हो भन्ने अध्ययन भइरहेको छ। यकिन भएपछि मात्रै निर्णय प्रक्रियामा जान्छौं।”

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस