देउवा पक्ष सक्रिय, प्रदेशस्तरबाट संगठन मजबुत बनाउने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (२ घण्टा अघि)
  • ३८ पटक पढिएको
देउवा पक्ष सक्रिय, प्रदेशस्तरबाट संगठन मजबुत बनाउने तयारी

काठमाडौं, २६ वैशाख। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह प्रदेश भेलाको तयारीमा जुटेको छ ।

पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका बेला देउवा समूह आन्तरिक रणनीति तय गर्न प्रदेश भेला गर्ने तयारीमा जुटेको हो ।

देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाको तयारी भइरहेको जनाएको छ ।

देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनको भनाइअनुसार देउवा समूहले प्रदेशस्तरीय भेला आयोजना गरेर आसन्न १५औं महाधिवेशनको तयारी गरिरहेको छ ।

‘विचार समूहको प्रदेशस्तरीय भेलाको उद्देश्य पार्टी संगठन सुदृढ बनाउने, १५औं महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुन: सक्रिय र एकताबद्ध बनाउने हो,’ विश्वकर्माले भने ।

वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने उनले बताए ।

देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।

नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।

देउवा समूहले प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट गर्ने भएको छ । कोशी प्रदेशको भेला २९ वैशाखमा विराटनगरमा आयोजना गरिने नेता विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा समूहको भेला आयोजना गर्ने विषयमा बिहीबार काठमाडौंमा प्रदेश सभापति वीरबहादुर बलायर, नेताहरू एनपी साउद र रमेश लेखकबीच छलफल भएको छ ।

उक्त छलफलमा कांग्रेस कैलालीका सभापति नारायण भट्ट, कञ्चनपुर सभापति पदम बोगटी र डोटी सभापति नरेन्द्रबहादुर सिंह उपस्थित थिए ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशस्तरीय भेलाको तयारी भइरहेको जानकारी दिए । ‘मिति तय भएको छैन । भेला गर्ने कुरो भएको छ । छलफल हुँदैछ,’ उनले भने ।

गण्डकी प्रदेशस्तरीय भेलाको तयारीमा लागि निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले सूचना नेताहरूलाई पठाइरहेका छन् । ‘नेपाली कांग्रेसभित्र देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै आगामी रणनीति र पार्टीको अवस्थाका बारेमा छलफल गर्न हार्दिक निमन्त्रणा गर्दैछौं,’ उक्त सूचनामा भनिएको छ ।

नेता बरालमार्फत सूचना पाएका एक नेताले दिएको जानकारीअनुसार पोखराको राष्ट्र बैंक चोकमा आगामी आइतबार (२७ वैशाख) अपराह्न ४:३० बजेका लागि छलफलको समय तय गरिएको छ ।

नेता बरालले अनलाइनखबरसँगको कुराकानीमा प्रदेशस्तरीय भेलाको तयारीबारे छलफल गर्न बैठक बोलाइएको पुष्टि गरे । ‘हामीले सातै प्रदेशमा भेला गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘त्यसैअनुसार तयारी भइरहेको छ ।’

बरालले बैठकमा गण्डकी प्रदेशका निवर्तमान केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार बनेकाहरूलाई बोलाइएको जानकारी दिए ।

नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बुधबार सम्पन्न देउवा समूहको छलफलले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो ।

बागमती प्रदेशस्तरीय भेला ३० वैशाखका लागि तय गरिएको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पार्टीलाई एकताबद्ध बनाउन बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको देउवापक्षीय नेताहरूको भनाइ छ । यसअघि निवर्तमान कार्यवाहक सभापति खड्काले १५ वैशाखमा दुई दिने भेला बोलाएका थिए ।

भेलामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सहभागी थिए ।

उता, पार्टीले प्रशिक्षण प्रतिष्ठानमार्फत सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गरिरहेको छ ।

जसअन्तर्गत कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय भएको छ । यस्तै, २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा हुँदैछ ।

३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ ।

त्यसैगरी, मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिबासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकही तथा लुम्बिनी प्रदेशको तिलोत्तमामा १४ र १५ जेठमा आयोजना गरिने भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस