नियम तोड्ने ३१ चालकविरुद्ध कडा कदम, लाइसेन्स निलम्बनको सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (४ घण्टा अघि)
  • ७१ पटक पढिएको
नियम तोड्ने ३१ चालकविरुद्ध कडा कदम, लाइसेन्स निलम्बनको सिफारिस

काठमाडौं, २७ वैशाख। काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।

प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक-पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो।

पटक-पटक जरिवाना तिराउँदा पनि सवारीचालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।

यस कारबाहीले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालनामा मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस