
काठमाडौं, ०४ जेठ। नेपालस्थित भारतीय दूतावासले शैक्षिक सत्र २०२६/२७ का लागि नेपाली विद्यार्थीहरूबाट ‘डाक्टर होमी जे. भाभा छात्रवृत्ति योजना’ अन्तर्गत आवेदन आह्वान गरेको छ ।
छात्रवृत्तिमार्फत भारतका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा इन्जिनियरिङ विषयको स्नातकोत्तर तह (एमई/एमटेक) अध्ययन गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।
दूतावासका अनुसार आवेदन दिने विद्यार्थीको उमेर सन् २०२६ जुलाई १ सम्ममा २५ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ । साथै, स्नातक तह (बीई) मा न्यूनतम ६० प्रतिशत अङ्क तथा कक्षा १२ मा अङ्ग्रेजी विषयमा कम्तीमा ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम मिति सन् २०२६ जुन ४ तोकिएको छ । आवेदन फाराम भारतीय दूतावासको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी प्रत्येक विषयका लागि छुट्टाछुट्टै फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
आवेदनसँगै हालसालै खिचिएको राहदानी आकारको फोटो, कक्षा १२ र स्नातक तहको लब्धाङ्कपत्र तथा शैक्षिक प्रमाणपत्रको नोटरी प्रमाणित प्रतिलिपि, अङ्ग्रेजीमा अनुवाद गरिएको नागरिकताको प्रतिलिपि र ४ सय रुपैयाँ शुल्क जम्मा गरेको बैंक भौचर अनिवार्य रूपमा पेस गर्नुपर्ने उल्लेख गरिएको छ । आवेदन शुल्क नेपाल एसबीआई बैङ्कमार्फत “शिक्षा शाखा, भारतीय दूतावास काठमाडौँ” को खातामा जम्मा गर्नुपर्नेछ ।
दूतावासले विद्यार्थीहरूलाई आवेदन फाराममा कम्तीमा तीन वटा विषयगत शाखा छनोट गर्न सुझाव दिएको छ । विश्वविद्यालयबाट प्राप्त सिटका आधारमा शाखा परिवर्तन गर्न सकिने पनि जनाएको छ ।
पूर्ण कागजातसहितको आवेदन हुलाक, कुरियर वा व्यक्तिगत रूपमा काठमाडौँस्थित भारतीय दूतावासमा कार्यालय समयभित्र बुझाउन सकिने व्यवस्था गरिएको छ।
दूतावासले अन्तिम वर्षका परीक्षार्थीहरू आवेदन दिन अयोग्य हुने स्पष्ट पारेको छ । छात्रवृत्तिको छनोट शैक्षिक योग्यताको आधारमा गरिने भए पनि दूतावासबाट मनोनयन हुनु मात्रै भारतको विश्वविद्यालयमा भर्ना सुनिश्चित नहुने जनाएको छ ।
यसैबिच, दूतावासले कुनै पनि शैक्षिक परामर्शदाता, एजेन्ट वा बिचौलियामार्फत प्राप्त आवेदनलाई मान्यता नदिने चेतावनी दिएको छ । विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा मात्रै आवेदन दिन आग्रह गरिएको छ ।
