
काठमाडौं, ०४ जेठ। नेपाली चलचित्र क्षेत्रका निर्देशकहरू यतिबेला चुनावी उत्साह र चटारोमा छन् । चलचित्र निर्देशक समाजको १८औँ महाधिवेशन मंगलबार (५ जेठ)मा आयोजना हुने भएपछि संघको आगामी नेतृत्व सम्हाल्न उम्मेदवारहरू बिहानदेखि साँझसम्म आ–आफ्नो कसरत र लबिङमा व्यस्त देखिएका हुन् ।
वर्तमान अध्यक्ष जनकदीप पराजुली नेतृत्वको कार्यसमितिले महाधिवेशनको मिति केही अगाडि नै तय गरेसँगै चुनावी सरगर्मी बढेको हो ।
संस्थाको बागडोर सम्हाल्न कतिपय आकांक्षीहरू एक महिनादेखि नै गोप्य रणनीति बनाउन सक्रिय छन् भने कतिपय पछिल्ला दिनमा दौडधुप र अन्तरक्रियामा व्यस्त छन् । केहीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरिसकेका छन् भने केहीले आफ्ना निकटस्थहरूसँग कुन पदमा उत्रिनु उपयुक्त हुन्छ भन्ने परामर्श लिइरहेका छन् । कोही महाधिवेशनकै दिन मात्र आफ्नो रणनीति सार्वजनिक गर्ने योजनाका साथ अगाडि बढिरहेका छन् ।
विभिन्न स्थानमा चियापान कार्यक्रमको आयोजना गरी सल्लाह र समर्थन जुटाउने र प्यानल बनाउने क्रम पनि उत्तिकै तीव्र छ । विगतका वर्षहरूको तुलनामा यसपटक निर्देशक समाजमा चुनावी रौनक केही भिन्न देखिएको छ । आइतबार सम्पन्न कलाकार संघको महाधिवेशनका कारण निर्देशक समाजको चुनावी चर्चा केही ओझेलमा परेको ठानिए पनि सोमबारदेखि भने काठमाडौँका ठाउँठाउँमा यो विषयमाथि बहस हुन थालेको छ ।
निर्देशकको एक टोली चलचित्र विकास बोर्डमा पनि छलफलमा जुटेको थियो । चुनावी चहलपहललाई नियाल्दा यसपटक संस्थामा पुराना अनुभवी र नयाँ उत्साही बिचको समिश्रण कार्यसमिति आउने संकेत देखिएको छ । कलाकार संघको निर्वाचनको परिणामजस्तै निर्देशक समाजमा पनि तुलनात्मक रूपमा फुर्सदिला र पाका व्यक्तिहरू नै नेतृत्वमा आउन सक्ने अनुमान गरिएको छ ।
चलचित्र पत्रकार र कलाकारहरूले आफ्नो संस्थाको महाधिवेशन सम्पन्न गरिसकेकाले अब उनीहरूको ध्यान पनि निर्देशक समाजको निर्वाचनतर्फ मोडिएको छ । यसक्रममा उनीहरूले आफ्ना निकट र प्रिय पात्रहरूलाई नेतृत्वमा ल्याउन विशेष ‘चलखेल’ र प्रभाव बढाउन थालेका छन् ।
को–को छन् अध्यक्षका आकांक्षी ?
सोमबारसम्मको अवस्था हेर्दा अध्यक्ष पदका लागि पाँच जना प्रमुख दाबेदारहरू मैदानमा देखिएका छन्, जसमा नेपालकी पहिलो महिला निर्देशक तथा पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठ, वर्तमान अध्यक्ष जनकदीप पराजुली, वर्तमान महासचिव अरुण प्रधान, निर्देशक राजु गिरी र जनक खकुरेल रहेका छन् । पूर्वअध्यक्ष श्रेष्ठ पुनः नेतृत्वमा फर्कने दाउमा छिन् भने पराजुली एक कार्यकाल दोहोर्याउने कसरतमा छन् । महासचिव प्रधान विभिन्न पदमा रहेर कार्य गरिसकेकाले अब संस्थाको सर्वोच्च पद सम्हाल्ने तयारीमा छन् ।
गिरी र खकुरेलले पनि पहिलो पटक अध्यक्षका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । साथै दीपाश्री निरौलालगायत केही चर्चित नामहरूको पनि चर्चा भइरहेकाले आकांक्षीहरूको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।
संस्थाकी संस्थापक सदस्यसमेत रहेकी सुचित्रा श्रेष्ठका अनुसार निर्देशक समाज हाल एक सानो घेरामा मात्र सीमित भएको जस्तो महसुस भएकाले यसलाई थप विस्तार र सुदृढीकरण गर्न आफू पुनः अध्यक्षमा उठ्न लागेको बताउँछिन् । अघिल्ला नेतृत्वले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्दै उनी सोमबार बिहानैदेखि सहकर्मीहरूसँग गहिरो छलफलमा जुटेकी छन् ।
‘म एउटा बलियो, सक्षम र समावेशी प्यानल घोषणा गरेर निर्वाचनमा जाने योजनामा छु,’ श्रेष्ठले भनिन् । त्यस्तै, अर्का बलिया उम्मेदवार प्रधान संस्थाको नेतृत्व अब नयाँ सोचका साथ आफूले पाउनुपर्ने दाबी गर्छन् । एक पटक अध्यक्ष भइसकेकाहरूलाई पुनः दोहोर्याउनुभन्दा नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने उनको तर्क छ । सबै निर्देशकहरूलाई गोलबद्ध गरी उनीहरूको हकहितका लागि दृढतापूर्वक लड्न सक्ने सक्षम व्यक्ति आफू नै भएको दाबी प्रधानको छ ।
उता, वर्तमान अध्यक्ष पराजुलीले आफ्नो कार्यकालमा थुप्रै रचनात्मक कामहरू सुरु गरेको र केही महत्त्वपूर्ण कार्यहरू अधुरै रहेकाले ती पूरा गर्न आफूलाई पुनः एकपटक अवसर दिनुपर्ने जिकिर गरिरहेका छन् ।
अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो प्यानलको घोषणासहित आक्रामक लबिङ सुरु गरेका छन् । उनको प्यानलमा महासचिवमा समुद्र भट्ट, वरिष्ठ उपाध्यक्षमा सुभाष गजुरेल, उपाध्यक्षमा दीपक वली, सचिवमा राजबहादुर साने, कोषाध्यक्षमा उत्सव केसी र सह–कोषाध्यक्षमा भिम तामाङ रहेका छन् । सदस्य पदमा लक्ष्मण सुनार, यम शेर्पा र सागर केरुङ देखिएका छन् ।
अन्य अध्यक्षका उम्मेदवारहरू पराजुली, गिरी र खकुरेलले भने हालसम्म प्यानल घोषणा गरेका छैनन्, उनीहरूले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी मात्र सार्वजनिक गरेका छन् । अन्य पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूमा लक्ष्मण सुवेदी (सदस्य), अमर वली (सचिव), कमलएक्सन मगर र जनक खड्का (महासचिव) र ऋषिराज आचार्य (उपाध्यक्ष) रहेका छन् । वर्तमान सचिव देवेन्द्र पाण्डेले भने यसपटक महासचिव पदमा उम्मेदवारी दिने चर्चा चलिरहेको छ ।
के छ महाधिवेशन तयारी ?
मंगलबार हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन समाजले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । अतिथि निमन्त्रणादेखि लिएर प्रचार सामग्रीको डिजाइन र छपाईका कामहरू सम्पन्न भएका छन् । महाधिवेशन सम्पन्न गर्नका लागि समाजले चलचित्र निर्माता, वितरक तथा हल व्यवसायी प्रदीप कुमार उदयलाई प्रमुख निर्वाचन अधिकृत तोक्दै तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
समितिमा गीतकार तथा पत्रकार शान्ति प्रिय र ताराकुमार श्रेष्ठ निर्वाचन अधिकृतका रूपमा रहेका छन् । यस निर्वाचनका लागि २५८ जना निर्देशक र २५ जना सहायक निर्देशक गरी कुल २८३ जना अन्तिम मतदाताहरूको नामावली निर्वाचन समितिलाई बुझाइसकिएको छ । महाधिवेशन काठमाडौँको धुम्बाराहीस्थित ‘स्मार्ट दरबार’ पार्टी प्यालेसमा आयोजना हुने जानकारी समाजका सचिव देबेन्द्र पाण्डेले दिए ।
मंगलबार हुने यस निर्वाचनले निर्देशक समाजलाई कस्तो नेतृत्व प्रदान गर्ने हो भन्ने कुरामा यतिबेला सम्पूर्ण चलचित्रकर्मीहरूको ध्यान केन्द्रित भएको छ ।
