
काठमाडौं, ०६ जेठ। फागुन २१ को निर्वाचन नतिजाले संसदमा सानो आकारमा खुम्चिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबिच सहकार्यका लागि गठबन्धन बनाउने गृहकार्य सुरु भएको छ ।
वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका कामकारबाही, संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत हुन थालेको भन्दै सरकार र नेपाली जनतालाई सजग र सतर्क गराउन जरुरी रहेको उनीहरूको भनाइ छ ।
अवस्था जटिल बन्दै गएको भन्दै यो व्यवस्था ल्याउन योगदान गरेका दलहरूबिच सहकार्यको आवश्यकता महसुस गर्दै पुराना तीन दलले त्यसको गृहकार्यस्वरुप नेताहरूबिच लगातार संवाद र छलफल थालेका हुन् । तीन वटै दलका नेताहरू गठबन्धन निर्माणका लागि पहल भइरहेको स्वीकार गर्छन् ।
उनीहरूका अनुसार कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबिच औपचारिक/अनौपचारिक भेटघाट र संवादका क्रममा सरकारका ज्यादतीविरुद्ध एक भएर जाने सैद्धान्तिक सहमति जुटे पनि व्यावहारिक रूपमा कसरी जाने भनेर ठोस निष्कर्षमा पुग्न बाँकी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते बसेको एमाले सचिवालय बैठकमा कांग्रेस र नेकपाका शीर्ष नेताबिचमा यसबारे कुराकानी भइरहेको ब्रिफिङ गरेका थिए । ‘अध्यक्षज्यूले यसबारेमा अस्तिको बैठकमा ब्रिफिङ गर्नुभएको छ,’ एमाले सचिव भानुभक्त ढकालले भने, ‘पुनः छलफल गरेर निष्कर्षमा पुग्ने शीर्ष तहमा कुराकानी भएको बुझिएको छ ।’
नेता ढकालका अनुसार सदन र सडकमा लोकतन्त्र र सरकारले गरेको ज्यादतीपूर्ण क्रियाकलापका विरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने सैद्धान्तिक सहमतिको बोर्डरलाइन बनेको छ । ‘सडक र सदनमा वाम–डेमोक्रेट मिलेर जानु उपयुक्त हुन्छ भन्ने बुझाइ सबैको छ’, उनले रातोपाटीसँग भने । ढकालका अनुसार त्रिपक्षीय छलफल भएपछि मात्र व्यावहारिक कार्यक्रम बन्नेछ ।
यसका लागि कांग्रेस र नेकपाको विश्वास जित्न प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न सकिने र सुदूरपश्चिममा नेकपालाई समेत सरकारमा सहभागी गराउने प्रस्ताव अघि बढाएको स्रोतको दाबी छ ।
हाल प्रदेशहरूमा कांग्रेस–एमाले गठबन्धनकै सरकार छन् । उनीहरूले केही प्रदेशमा आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए । उक्त सहमतिअनुसार असारसम्ममा प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेछ ।
हाल कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार छ भने बागमती, मधेस, सुदूरपश्चिम र गण्डकीमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । यस्तो अवस्थामा नेकपालाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिन सकिने एमालेको प्रस्ताव छ भने मधेसमा कांग्रेसकै नेतृत्वको सरकारमा एमाले सहभागी हुने ढंगले छलफल भइरहेको बताइएको छ ।
‘सुदूरपश्चिममा नेकपा सबैभन्दा ठुलो दल भएको नाताले उसलाई सरकारको नेतृत्व दिन सकिन्छ भन्ने एमाले अध्यक्षको कुरा छ । यसमा कांग्रेसले केही भनिसकेको छैन’, एमालेका एक पदाधिकारी भन्छन्, ‘तीनै दल मिलेर जाँदा तीन–तीन÷एक गर्दा उपयुक्त नै हुन्छ ।’
तर यो प्रस्तावमा कांग्रेस आफ्नो भागका हाल रहेका चार प्रदेशमध्ये एक खोसिने भएकाले निर्णयमा पुग्न नसकेको बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ लोकतन्त्रको पक्षमा रहेका शक्तिहरूसँग सहकार्य गर्न कांग्रेस खुला रहेको बताउँछन् । त्यसबारेमा दलहरूबिच संवाद र छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ ।
‘संविधान र गणतन्त्रको रक्षार्थ सहकार्य गर्न कुनै कठिनाइ छैन । त्यसका लागि हामी संविधान र व्यवस्थाका पक्षधर सबैसँग सहकार्य गर्दै अगाडि बढ्न तयार र खुला छौँ’, महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘प्रदेशका सवालमा पनि हामी अन्तरविरोध र अस्थिर सरकारको पक्षमा छैनौँ ।’
त्यसबारेमा उनले पहिला एमाले कांग्रेसबिच नै समझदारी कायम गरेर जाने विषय रहेको भन्दै त्यसबाहेक अवस्था अनुसार संसदमा उपस्थित भएका दलहरूसँग पनि संवाद र सहकार्य गर्न सकिने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले त गत चैत १९ मा सुरु भएर वैशाख दोस्रो साता सम्पन्न संयोजन समिति बैठकबाटै लोकतन्त्रको रक्षा र संविधानको रक्षार्थ लोकतान्त्रिक शक्तिसँग सहकार्यमार्फत गरेर अघि बढ्ने निर्णय नै गरिसकेको छ ।
‘नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा देशभक्त शक्तिहरू बिचमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र सुदृढीकरणको उद्देश्यसहित साझा समझदारी कायम गर्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त भूमिका निर्वाह गरिनेछ’, नेकपाले आफ्नो निर्णयमै भनेको छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले नीतिगत रूपमा सहकार्य गर्ने पार्टीको निर्णय भइसकेको भन्दै सहकार्यको पनि पहल भइरहेको बताए ।
‘सरकारका कतिपय गतिविधि हेर्दा आन्दोलनका उपलब्धिलाई मास्ने, संविधान मिच्ने र न्यायालयमा राजनीतिक हस्तक्षेप भइरहेकाले संविधान र लोकतन्त्रका पक्षमा मात्र नभएर जनताका पक्षमा पनि छैनन्’, नेता ज्वालाले भने, ‘जनता महँगीको मारमा छन्, सुकुमबासीको बिचल्ली छ । सुशासनको नारा दिने सरकारले आफैँ अराजकता मच्चाइरहेको छ । सरकारको यो गलत क्रियाकलापको विरोध गर्छौं भनेर पार्टीले प्रस्ट रूपमा बोल्दै आएको छ ।’
नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज लीला श्रेष्ठ गणतन्त्र ल्याउन भूमिका खेलेका राजनीतिक शक्तिहरू सडक र सदनमा एकाकार भएर जानुपर्ने अवस्था आएकाले सोही अनुसार वार्ता र संवाद भइरहेको बताउँछन् ।
‘गणतन्त्र जोगाउने कुरा अहिले प्रमुख रूपमा आइसकेको छ । राजा ल्याउने भित्री योजनाहरू भइरहेको भन्ने सुन्न थालिएको छ’, श्रेष्ठले भने, ‘संविधान र गणतन्त्र जोगाउन भूमिका खेल्दै बदलिएको परिवेशमा प्रदेशहरूमा सुशासन कायम गर्ने, आफूहरू पनि बदलिनुपर्छ र त्यसका लागि आवश्यक सहकार्य गर्ने हो ।’
त्यसका लागि अध्यक्ष ओलीले कांग्रेस र नेकपा नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेको उनको भनाइ छ । ‘कांग्रेस सभापति गगन थापा, नेता विश्वप्रकाश शर्मा र प्रचण्डसँग कुरा भइरहेको छ’, श्रेष्ठले भने, ‘अब त्रिपक्षीय कुरा गरेर सहकार्यको ठोस मोडल तय गर्ने कुरा भएको छ ।’
