समर्थकको उत्साहबीच नेपालले भारतलाई पुनः हराउने योजना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ८, शुक्रबार (१२ घण्टा अघि)
  • ११ पटक पढिएको
समर्थकको उत्साहबीच नेपालले भारतलाई पुनः हराउने योजना

काठमाडौं, ०८ जेठ। नयाँ कप्तान, फेरिएको टोली, अर्को नयाँ प्रतियोगिता । तर कोर्ट उही, प्रतिद्वन्द्वी उही अनी दर्शकको साथ उही । शुक्रबारदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदा नेपालमा फेरि एक पटक अन्तर्राष्ट्रिय महिला भलिबलको रौनक सुरु हुनेछ ।

नेपाली भलिबलप्रेमी दर्शकहरू अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल खेलाडीहरू फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ ।

नेपालमा आयोजना हुने मध्ये काभाकै प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो । त्यसमाथि कजाखस्तान, इरान जस्ता एसिया मात्र नभई विश्व वरियताममै माथि रहेका बलिया टिमहरू समेत सहभागी हुँदा यो प्रतियोगिता अझ हेर्नलायक बनेको छ ।

नेपालले ठूला प्रतिद्वन्द्वी विरुद्ध नियमित जस्तो खेल्न पाउने पनि यही काभा भलिबल नै हो । त्यसैले पनि नेपाली टोली घरेलु कोर्टमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्न उत्साहित छ ।

आफ्नै कोर्टमा आफ्नै दर्शक अघि खेल्नुको मज्जा नै फरक हुन्छ । त्यसको असली अर्थ खेलाडीले नै बुझेका छन् ।

त्यसैले त बिहीबार भएको प्रि-म्याच कन्फेरेन्समा नेपालकी कप्तान निरुता ठगुन्नाले पनि घरेलु कोर्टमा घरेलु दर्शकको अघि खेल्दा ऊर्जा प्राप्त हुने बताइन् । उनले भनिन्, ‘हामीलाई घरेलु कोर्ट भन्ने बित्तिकै ९० प्रतिशत पब्लिकको साथ हुन्छ । त्यसमा जति बाँकी रह्यो हामी कमजोरी नगरी खेल्ने भन्ने छ । होम कोर्टमा खेल्दा दर्शकको सधैं सपोर्ट हुन्छ । राम्रो भइरहेको छ ।’

किन ९० प्रतिशत मात्र भन्ने जिज्ञासामा निरुताले भनिन्, ‘दर्शकको सपोर्ट हुँदा हामीले धेरै कराउनुपर्दैन । दर्शकको हुटिङले ऊर्जा हुन्छ । दर्शकको धेरै सपोर्ट हुन्छ र शतप्रतिशत नै सपोर्ट आउँछ ।’

यसले पनि पुष्टि गर्छ कि आफ्नै कोर्टमा दर्शकको साथ हुँदा त्यसले खेलाडीलाई कति धेरै ऊर्जा दिन्छ र खेलमा उत्कृष्ट प्रदर्शन गर्न मोटिभेसन गर्छ भनेर ।

घरेलु टिमलाई दर्शकको समर्थनको फाइदा हुने छ नै विपक्षी टिमलाई नेपालको समर्थनमा खेल्न गाह्रो पनि हुन सक्छ । त्यसैले त आयोजकलाई होम एडभान्टेज हुन्छ भन्ने विषयमा चर्चा हुने गर्छ ।

निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोली १४ खेलाडी मात्र नभएर समग्र देशको प्रतिनिधित्व गर्दै कोर्टमा उत्रँदा दर्शकहरूको साथ कोर्ट भित्र मात्र नभएर टेलिभिजनमा प्रत्यक्ष हेर्ने दर्शकहरूको पनि हुन्छ ।

भारत विरुद्ध कप्तानी डेब्यू

दुई वर्षअघि निरुताले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले महिला भलिबल इतिहासमै पहिलो पटक भारतलाई पराजित गरेको थियो । त्यो बेला निरुता विपक्षी विरुद्ध खुबै छाएकी थिइन् । उनले नेपालका लागि सर्वाधिक अंक जोडेकी थिइन् ।

यस पटक निरुताको भूमिका पनि फेरिएको छ । अब निरुताको काम स्पाइक हान्ने मात्र नभएर नेपाली टिमको कप्तानी गर्ने भूमिका पनि छ । अनी उनको कप्तानीमा नेपालको पहिलो खेल नै त्यही भारत विरुद्ध हुनेछ ।

नेपालले २०२४ मा काठमाडौंमै काभा महिला नेसन्स कपमा भारत विरुद्ध फाइनल नै नेपालको पछिल्लो अन्तर्राष्ट्रिय खेल थियो । त्यसपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ र त्यो घरेलु कोर्टमा त्यही भारत विरुद्ध हुँदैछ ।

यो खेललाई लिएर कप्तान निरुता र नेपाली टिममात्र नभएर नेपाल भलिबल संघ देखि समग्रमा नेपाली समर्थक नै उत्साहित छन् ।

नेपाल र भारतबीचको खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । नेपाली टोलीमा यस पटक ६ नयाँ खेलाडीले इन्ट्री मारेका छन् । आउटसाइड हिटर मिना सुनार र सलिना बुढा मगर, सेटर जसना महतो, मिडलब्लकरत्रय बसन्ती साउद, सुनिता खत्री र एलिशा मानन्धर पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।

मिना, सलिना, एलिशा र सुनिताले नेपालको लागि उमेर समूहबाट खेलिसकेका छन् । त्यो अनुभवलाई अब सिनियर टोलीमा देखाउने अवसर उनीहरूलाई छ । नियमित कप्तान तथा सेटर अरुणा शाही अस्ट्रेलिया जाँदा यस पटक नयाँ सेटर जसना महतोले अवसर पाइन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी प्रगति नाथले अब पहिलो रोजाइमा खेल्नेछिन् । अरुणासँगै दुई वर्षअघि खेलेका खेलाडीहरू सरस्वती चौधरी, साफिया पुन, कविता भट्ट, पुनम चन्द जस्ता खेलाडीहरूले विदेश रोज्दा अहिले टिममा नयाँ खेलाडीहरू आएका छन् ।

निरुताले टिममा सबै सँगै खेलेका खेलाडीहरू नै रहेकोले कप्तानी गर्न धेरे गाह्रो नहुने प्रतिक्रिया दिइन् । ‘कप्तानीमा मलाई धेरै गाह्रो हुँदैन । सधैँ सँगै खेलिरहेको खेलाडीहरू नै छन् । नयाँ छैन । यस्तै तीन जना प्रशिक्षकहरू हुनुहुन्छ । क्लबमा पनि सँगै ट्रेनिङ गराइरहने प्रशिक्षक हुनुहुन्छ । सिनियर जुनियर खेलाडीहरू पनि छन् र कप्तानीमा खासै गाह्रो छैन’ उनले भनिन् ।

सन् २०२४ को काभा वुमेन्स नेसन्स लिगमा नेपालले समूह चरणमै भारतलाई हराउँदा खेलाडीको सेलेब्रेसन समेत गज्जबको थियो । फेरि एकपटक नेपालसामु भारतलाई हराएर सेलेब्रेसन गर्ने मौका पनि छ । विगको जित हार र सेलेब्रेसन बारे निरुता नोस्टाजिलक हुँदै भन्छिन् ।

‘हामी विगतमा भारतसँग खेलिरहेको हो । जहिले पनि हामी फाइनल पुग्दा भारतसँग हार्थ्यो । हाम्रो प्रतिद्वन्दी नै भारत भएकोले भारतसँग जित्दा खुशी भएको त्यो बेला जित्दा सेलेब्रेसन गरेको हो’ दुई वर्षको अघि भारतलाई हराउँदाको क्षणबारे निरुताले भनिन्, ‘खेलमा हार जित भइहाल्छ । त्यो भन्दा अझ बेस्ट खेलेर टिमलाई बलियो बनाएर त्यो टिम (भारत)लाई कसरी जित्ने भन्ने छ । फाइनलमा फेरि जितेर सेलेब्रेसन गर्ने धोको छ ।’

निरुताको त्यो रहर पूरा हुन नेपालको समूहबाट दुवै टोली सेमिफाइनल पुग्नुपर्नेछ र दुवैले सेमिफाइनलमा अर्को समूहबाट आउने टिमलाई हराएर फाइनल पुग्नुपर्नेछ ।

भारतको पनि यस पटक कप्तान लगायत धेरै खेलाडी र प्रशिक्षक नै परिवर्तन भएको छ । भारतकी कप्तान नन्दना भलाप्पिललले यस पटक टिमले छोटो तयारी गरेपनि राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिएकी छिन् ।

उनले भारतको कप्तानी गर्दै काभा महिला भलिबल खेल्न आउँदा धेरै खुशी लागेको बताइन् । ‘हाम्रो तयारी छोटो समय भयो । तर हामी राम्रो प्रदर्शन गर्ने आशा छ’ उनले भनेकी छन् ।

नेपाली समर्थक अघि खेल्ने विषयमा भारतीय कप्तान नन्दना भन्छिन्, ‘यो दबाब होइन । नेपालमा खेल हुँदा नेपाललाई धेरै सपोर्ट हुन्छ । हामी त्यसमा ओभरकम गर्दै राम्रो प्रदर्शन गर्ने विश्वास छ ।’

नेपाल र भारतबीच पछिल्लो समय महिला भलिबलमा राइभलरी समेत बनिरहेको छ । नियमित जस्तो दुई टोलीबीच खेल भएको छ । जसमा नतिजा जस्तो आएपनि खेल भने प्रतिस्पर्धात्मक बनिरहेको छ । त्यसमा पनि पछिल्लो ७ वर्ष नेपाल र भारत काठमाडौंमै ४ पटक खेलिसकेको छ । त्यसैले एकले अर्कालाई राम्रोसँग चिनेका छन् ।

तर यस पटक भने दुवै टिम फेरिएको छ र टिममा कप्तान परिवर्तन देखि नयाँ खेलाडीहरूको इन्ट्रीसम्म भएको छ ।

नेपाल र भारतबीच अहिलेसम्म महिला भलिबलमा १० पटक खेल हुँदा भारत हावी बनेको छ । जसमा भारतले ९ खेल जित्दा नेपालले १ खेल मात्र जित्न सफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस