एमालेभित्र चर्कियो ओलीमाथि दबाब, अध्यक्ष पद छाड्न माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १०, आईतबार (१२ घण्टा अघि)
  • १३ पटक पढिएको
एमालेभित्र चर्कियो ओलीमाथि दबाब, अध्यक्ष पद छाड्न माग

काठमाडौ, १० जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी अध्यक्ष पद छाड्नुपर्ने दबाब बढ्दै गएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकमा बहुसङ्ख्यक नेताहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष व्यक्त गरेका छन् ।

शनिवारसम्मको बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरूले अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने भन्दै पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका छन् । महासचिव शङ्कर पोखरेलले पनि उपाध्यक्षहरूकै लाइनमा उभिएर अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने स्पष्ट धारणा राखेको बुझिएको छ ।

शुक्रवार उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका थिए । उपाध्यक्ष गुरुङले चुनावमा भएको अनपेक्षित पराजयको जिम्मेवारी लिँदै ओलीले कार्यकर्ताको मागअनुसार मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

बैठकमा ओलीले प्रतिवाद गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै गुरुङले आपत्ति जनाएका थिए । “के एमाले पार्टी तपाईँको प्राइभेट कम्पनी हो ? कम्युनिस्ट पार्टी तपाईँको निरङ्कुश शैलीले चल्छ ?” भन्दै गुरुङले प्रतिवाद गरेको बैठक स्रोतले बताएको छ ।

महासचिव शङ्कर पोखरेलले कार्यकर्तामा निराशा बढिरहेको, त्यो निराशा सजिलै आशामा बदलिने नभएको र पार्टी पुनर्गठन आवश्यक रहेको बताए । उनले राजीनामा शब्द प्रयोग नगरे पनि अहिलेकै नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने प्रस्ट सन्देश दिएका थिए ।

अध्यक्ष ओलीले भने नेताहरूको आवाजलाई बेवास्ता गर्दै “सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?” भन्दै कडा अडान लिएको बैठक स्रोतले जनाएको छ ।

अहिलेसम्म बोलेका पदाधिकारीहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले मात्र ओलीको बचाउ गरेका थिए । बस्नेतले सङ्कटको बेला नेतृत्वको राजीनामा माग्नेहरूलाई “अपराधी” को संज्ञा दिए ।

उपमहासचिव लेखराज भट्टले ६० वर्षभन्दा माथिका सबै नेताले जिम्मेवारी छाडेर नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव राखेका थिए । अर्का उपमहासचिव योगेश भट्टराईले ओलीलाई बिना सर्त मार्ग प्रशस्त गर्न आग्रह गर्दै “तपाईँकै पालामा पार्टी इतिहासकै सबैभन्दा कमजोर भयो” भनेका थिए । उपमहासचिव रघुवीर महासेठले पनि पार्टीमा गम्भीर समीक्षा र पुनर्गठन आवश्यक रहेको बताएका थिए ।

बैठक आज आइतबार बिहान ११ बजेबाट पुनः बस्दै छ । आज अध्यक्ष ओलीले आफ्नो निर्देशनात्मक भनाइ राखेपछि बैठक समापन हुने र कार्य विभाजनलगायतका निर्णय हुने बताइएको छ ।

एमाले उपमहासचिव लेखराज भट्टले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले कमीकमजोरी सच्याएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र कार्यकर्तामा देखिएको उदासीनतालाई ऊर्जामा बदल्नुपर्ने धारणा राखेको जानकारी दिएका थिए ।

बैठकलाई एमाले पार्टीभित्रको नेतृत्व परिवर्तन र पुनर्गठनको बहसको रूपमा हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस