कोरिया जान नपाएका ईपीएस उत्तीर्ण युवाहरू माइतीघरमा आन्दोलनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (१४ मिनेट अघि)
  • ४३ पटक पढिएको
कोरिया जान नपाएका ईपीएस उत्तीर्ण युवाहरू माइतीघरमा आन्दोलनमा

काठमाडौ, ११ जेठ। दक्षिण कोरिया रोजगारीको सपना बोकेर भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरू प्रशासनिक ढिलासुस्तीविरुद्ध सडकमा उत्रिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि महिनौँसम्म कोरिया जान नपाएको भन्दै युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले “पास गरेकोलाई कोरिया पठाऊ” र “रोजगारको अधिकार सुनिश्चित गर” जस्ता नाराबाजी गर्दै सरकारको सुस्त कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए । वर्षौँको मेहनत, समय र लाखौँ रुपैयाँ खर्च गरेर भाषा परीक्षा उत्तीर्ण गरे पनि राज्यको कमजोर कूटनीतिक पहलका कारण आफूहरू अलपत्र परेको उनीहरूको गुनासो छ ।

प्रदर्शनमा सहभागी युवाहरूका अनुसार भाषा परीक्षा पास गरी रोस्टरमा नाम सूचीकृत भए पनि कोरियाली रोजगारदाताबाट श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउँदा हजारौँ युवाको भविष्य अन्योलमा परेको छ । नेपाल र दक्षिण कोरिया सरकारबीचको कमजोर समन्वय, सीमित श्रम कोटा तथा प्रशासनिक जटिलताले श्रम आपूर्ति प्रक्रिया प्रभावित बनेको उनीहरूको आरोप छ ।

आन्दोलनमा सहभागी युवाहरूले भाषा प्रशिक्षण, सीप तालिम, मेडिकल लगायतका प्रक्रियामा ठूलो रकम खर्च भइसकेको र धेरैजना ऋणको भारमा परेको बताएका छन् । साथै उमेर सीमा नाघ्ने चिन्ताले थप मानसिक दबाब सिर्जना गरेको उनीहरूको भनाइ छ ।

“हामीले भीख मागेका होइनौँ, आफ्नै क्षमताले परीक्षा पास गरेर रोजगारीका लागि जान खोजेका हौँ,” एक प्रदर्शनकारीले भने, “सरकारले बाटो खोल्न नसक्नु दुःखद कुरा हो ।”

प्रदर्शनकारीहरूले श्रम आपूर्ति प्रक्रियालाई पारदर्शी बनाउन, दक्षिण कोरिया सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी श्रम कोटा वृद्धि गर्न तथा रोकिएका युवाहरूलाई शीघ्र कोरिया पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस