विपक्षी दबाबबीच प्रधानमन्त्री बालेनले एक साताभित्र सदनमा सम्बोधन गर्ने संकेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (२ हप्ता अघि)
  • ६० पटक पढिएको
विपक्षी दबाबबीच प्रधानमन्त्री बालेनले एक साताभित्र सदनमा सम्बोधन गर्ने संकेत

काठमाडौ, १३ जेठ। प्रधानमन्त्री  बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा निरन्तर आवाज उठाएका छन् । प्रधानमन्त्रीलाई अनिवार्य रूपमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग समेत विपक्षी दलहरूको छ ।

मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित गर्नुपरेको थियो । निरन्तर अवरोधका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक साताभित्र सदनमा आएर सांसदका प्रश्नको जवाफ दिने जानकारी दिएका छन् ।

‘मैले प्रधानमन्त्रीको सचिवालयसँग पनि यसबिचमा कुराकानी गरेको छु । यो विषय संसद्को वादविवादभन्दा सैद्धान्तिक छलफलबाटै निकास निकालेर परिणाम दिनुपर्ने हो भन्नेमा हामी सबै स्पष्ट छौँ,’ बुर्लाकोटीले भने, ‘त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सांसदका प्रश्नको जवाफ दिनुहुन्छ भन्ने जानकारी गराउन चाहन्छु ।’

सभामुख डीपी अर्यालले पनि प्रधानमन्त्री सदनमा आएर सांसदका प्रश्नको उत्तर दिन तयार रहेको बताएका छन् । ‘प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ। उहाँ छिट्टै आउनुहुन्छ,’ सभामुख अर्यालले भने ।

उनका अनुसार प्रधानमन्त्री संसद्मा आउन पत्राचारलगायतका प्रक्रिया पूरा गर्नुपर्ने र प्रश्नको जवाफ दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो । ‘सरकारको आफ्नो तयारी होला, प्रधानमन्त्रीको आफ्नै तयारी होला । तयारी पूरा भएपछि उहाँले मलाई मिति दिनुहुन्छ,’ अर्यालले भने, ‘मिति प्राप्त भएपछि सार्वजनिक गर्छु । अहिले प्राप्त जानकारीअनुसार उहाँ छिट्टै सदनमा आएर सदस्यहरूले उठाउने प्रश्नको जवाफ दिनुहुनेछ ।’

प्रधानमन्त्रीको उपस्थितिबारे औपचारिक मिति तय नभए पनि एक साताभित्र सदनमा आउने सङ्केतपछि राजनीतिक वृत्तमा चासो बढेको छ । विपक्षी दलहरूले भने प्रधानमन्त्रीलाई यथाशीघ्र उपस्थित गराउन सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने अडान कायम राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस