
काठमाडौ, १६ जेठ। एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा इन्डोनेसियामाथि ४ विकेटको जित निकालेको थियो । लगातार दुई जितसँगै नेपाल उच्च मनोबलका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली मलेसिया भने समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । घरेलु मैदान र समर्थकको साथ पाएको मलेसिया नेपालविरुद्ध कडा चुनौती प्रस्तुत गर्ने तयारीमा छ ।
आजको खेल विजेताले फाइनलमा स्थान बनाउनेछ र एसियाली खेलकुदका लागि सिधै छनोट हुनेछ । यस छनोट प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली तथा तेस्रो स्थान हासिल गर्ने टोलीसमेत यसै वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुने प्रावधान रहेको छ ।
त्यसैले नेपाल आजको खेल जित्दै फाइनलमा पुगेर एसियाली खेलकुदको टिकट सुरक्षित गर्ने लक्ष्यमा छ । यद्यपि, सेमिफाइनलमा पराजित भए पनि नेपालसँग तेस्रो स्थानका लागि हुने खेलमार्फत छनोट हुने अर्को अवसर रहनेछ ।
नेपाली महिला क्रिकेट टोली पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सुदृढ प्रदर्शन गर्दै आएको छ । कप्तान इन्दु बर्माको नेतृत्वमा टोली सन्तुलित देखिएको छ भने बलिङ र ब्याटिङ दुवै पक्ष मजबुत देखिएको छ । युवा र अनुभवी खेलाडीहरूको संयोजनले टोलीलाई प्रतिस्पर्धात्मक बनाएको छ ।
लगातार तेस्रो जित निकाल्दै उपाधिनजिक पुग्ने लक्ष्यसहित नेपाल मैदान उत्रँदै छ भने मलेसिया घरेलु फाइदा उठाउँदै फाइनल यात्रा तय गर्ने दाउमा रहनेछ । आजको खेलले नेपाली महिला क्रिकेटको भविष्य र एसियाली खेलकुद यात्राको दिशा तय गर्नेछ ।
