अवैध व्यापारमा संलग्न चिनियाँ नागरिक पक्राउ, पर्यटक भिसाको दुरुपयोग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १६, शनिबार (२ घण्टा अघि)
  • ३४ पटक पढिएको
अवैध व्यापारमा संलग्न चिनियाँ नागरिक पक्राउ, पर्यटक भिसाको दुरुपयोग

काठमाडौ, १६ जेठ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्यटकीय भिसाको दुरुपयोग गरी अवैध रूपमा व्यापार गरिरहेका दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको देवचुली नगरपालिका वडा नं. १३ दलदलेस्थित बजारमा अनुमति बिना र बिल बिजक समेत नभएका सामग्रीहरू बिक्री वितरण गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट खटिएको विशेष प्रहरी टोलीले हिजो शुक्रबार उनीहरूलाई सामानसहित फेला पारेको थियो । पक्राउ पर्नेहरूमा ५८ वर्षीय च्यान जिन्चियान र ६० वर्षीया यी लिहुआ रहेका छन् ।

पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरूले प्रचलित कानुन विपरीत व्यापारिक गतिविधि गरेको प्रहरीले जनाएको छ । उनीहरूले दलदले क्षेत्रमा बिल बिजक नभएका छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरू बिक्री वितरण गरिरहेका थिए ।

प्रहरी टोलीले खानतलासी गर्दा ती सामानको कुनै आधिकारिक कागजपत्र नभेटिएपछि ज्याकेटहरू बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

पर्यटक भिसामा आएर अनुमति बिना व्यावसायिक काम गर्न नपाइने कानुनी प्रावधान उल्लङ्घन गरेकाले उनीहरूलाई अध्यागमन कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस