साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल, बराबरीमै समूह विजेता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १७, आईतबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल, बराबरीमै समूह विजेता

काठमाडौ, १७ जेठ। भारतको गोवामा भइरहेको साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल जवाहरलाल नेहरु स्टेडियममा पौने ५ बजे सुरु हुनेछ ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो भने श्रीलंका भुटानसँग ४–० ले पराजित भएको थियो ।

एन्जिला तुम्बापोको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ । नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै पर्याप्त हुन्छ । श्रीलंकालाई भने सेमिफाइनल पुग्न नेपालमाथि पराकिलो जित आवश्यक छ ।

नेपालको नियमित कप्तान तथा गोल मेसिनको रुपमा चर्चित सावित्रा भण्डारी (साम्बा) घुँडाको चोटका कारण हाल टिममा छैनिन् । घुँडाको शल्यक्रियापछि उनी हाल आराममा छिन् । यस्तै सविता रानामगर पनि चोटको शल्यक्रियापछि मैदान बाहिर नै छिन् ।

कम्बोडियामा लिग खेलिरहेकी प्रीति राई ट्राभलका कारण भुटान विरुद्ध पहिलो खेल खेलिनन् । नियमित खेलाडीहरु नहुँदा नेपालले पहिलो खेलमा भुटान विरुद्ध जम्मा एक गोल गरेको थियो । त्यो पनि डिफेण्डर गीता रानाले गरेकी थिइन् ।

नेपालको फरवार्ड लाइन सम्हालिरहेका रश्मि कुमारी घिसिङ, रेखा पौडेलसँगै युवा फरवार्डद्वय मिना देउवा र पूर्णिमा राईलाई श्रीलंका विरुद्ध गोल गर्दै सेमिफाइनलको तयारी गर्न अवसर छ ।

हाल नेपाल र भुटानको समान ३ अंक छ । भुटानले दुई खेल खेलिसकेको छ र गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।

आजै समूह बी अन्तर्गत साविक विजेता बंगलादेश र घरेलु टोली भारतबिच राति पौने ८ बजे खेल हुनेछ । दुवै टोलीले माल्दिभ्सलाई हराएर यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । त्यसैले यो खेल समूह बी को विजेता बन्नका लागि निर्णायक हुनेछ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेल जुन ३ र फाइनल खेल जुन ५ मा हुनेछ ।

साफ महिला च्याम्पियनसिपको यो आठौं संस्करण हो । अहिलेसम्म भारतले सर्वाधिक ५ पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो दुई संस्करणको च्याम्पियन हो । नेपाल अहिलेसम्म ६ पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस