आरसीबीले पुनः जित्यो उपाधि, आइपिएलमा लगातार दोस्रो सफलता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (११ घण्टा अघि)
  • २९ पटक पढिएको
आरसीबीले पुनः जित्यो उपाधि, आइपिएलमा लगातार दोस्रो सफलता

काठमाडौ, १८ जेठ। १८ वर्षसम्म उपाधिको पर्खाइमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले इतिहास बदल्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरूले आइपिएल २०२६ को ट्रोफी उचालेको हो ।

गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बैंगलुरूले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । जितका लागि कप्तान रजत पाटीदारको टोलीलाई अनुभवी ब्याटर विराट कोहलीले नेतृत्व गरे । कोहलीले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए । वेन्कटेश अय्यरले १६ बलमा ३२ रनको आक्रामक इनिङ खेलेर टोलीलाई सहज जिततर्फ डोर्‍याए ।

गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धु (२०) र जस बटलर (१९) ले उल्लेखनीय योगदान दिए । बैंगलुरूका लागि रसिख सलामले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुड र भुवनेश्वर कुमारले २–२ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए ।

बैंगलुरू यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराउँदै फाइनल पुगेको थियो । लिग चरणमा शीर्षस्थानमा रहेर टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

कप्तान पाटीदारको ऐतिहासिक उपलब्धि

लगातार दुई पटक आइपिएल जित्ने कप्तानको सूचीमा रजत पाटीदार तेस्रो बनेका छन् । यसअघि महेन्द्र सिंह धोनी (२०१०, २०११) र रोहित शर्मा (२०१९, २०२०) ले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।

सन्तुलित टोली, सामूहिक प्रदर्शन

बैंगलुरूको सफलताको मुख्य आधार सामूहिक प्रदर्शन रह्यो । टोली कुनै एक खेलाडीमा निर्भर रहेन । सिजन ८ फरक–फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

ब्याटिङतर्फ विराट कोहलीले १६ खेलमा १६५.८४ को स्ट्राइक रेटमा ६७५ रन बनाए, जसमा एक शतक र पाँच अर्धशतक समावेश छन् । कप्तान पाटीदारले १५ खेलमा १९२.६९ को स्ट्राइक रेटमा ५०१ रन जोडे भने देवदत्त पडिक्कलले ४६४ रन बनाए । यी तीन ब्याटरले मात्र १६४० रन योगदान गर्दै शीर्ष क्रम मजबुत बनाए ।

मध्य क्रममा वेन्कटेश अय्यरले ६ इनिङमा २०९ रन जोड्दै आवश्यक समयमा टोलीलाई सम्हाले । बलिङतर्फ भुवनेश्वर कुमार, रसिख सलाम र जोश हेजलवुडले निरन्तर प्रभावशाली प्रदर्शन गरे ।

ऐतिहासिक उपलब्धि

आईपीएलमा लगातार दुई उपाधि जित्ने बैंगलुरू तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स (२०१०, २०११) र मुम्बई इन्डियन्स (२०१९, २०२०) ले लगातार उपाधि जितेका थिए। सर्वाधिक ५–५ उपाधिसहित चेन्नई र मुम्बई शीर्षस्थानमा छन् ।

गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक उपाधि जितेको बैंगलुरूले यस पटक उपाधि रक्षा गर्दै आफ्नो नयाँ युगको सुरुवात गरेको सङ्केत दिएको छ । लगातार दोस्रो ट्रोफीसँगै आरसीबी अब आइपिएलको शक्तिशाली टोलीका रूपमा स्थापित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस