प्रधानमन्त्री शाहको सीमा टिप्पणी भारतीय मिडियामा चर्चामा, कूटनीतिक बहस चर्कियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (९ घण्टा अघि)
  • २६ पटक पढिएको
प्रधानमन्त्री शाहको सीमा टिप्पणी भारतीय मिडियामा चर्चामा, कूटनीतिक बहस चर्कियो

काठमाडौ, १८ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यमहरूमा व्यापक चर्चा पाएको छ। संसद्मा दिएको उनको भनाइलाई विभिन्न भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गर्दै नेपाल–भारत सम्बन्धको भावी दिशा र सीमा विवाद समाधानका सम्भावित उपायबारे बहस अघि बढाएका छन्।

आइतबार प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई तथा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि मिचेको” बताएका थिए। चैत १३ गते प्रधानमन्त्री बनेपछि संसद्लाई गरेको पहिलो सम्बोधनमै आएको उक्त अभिव्यक्तिले राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढाएको छ।

प्रधानमन्त्री शाहको भनाइलाई भारतीय सञ्चारमाध्यमहरूले विशेष महत्वका साथ प्रस्तुत गरेका छन्। बीबीसी हिन्दी र नवभारत टाइम्सले उनको भनाइलाई उद्धृत गर्दै सीमा विवादलाई एकपक्षीय रूपमा हेर्नुभन्दा दुवै देशले संवादमार्फत समाधान खोज्नुपर्ने सन्देशलाई प्राथमिकता दिएका छन्।

त्यस्तै, न्युज२४ अनलाइनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘आश्चर्यजनक’ भन्दै यसले सीमा विवादबारे नयाँ बहस जन्माएको उल्लेख गरेको छ। समाचारमा प्रधानमन्त्रीले नेपालले अतिक्रमण गरेको भनिएका स्थानहरूको नाम नखुलाए पनि समस्या समाधानका लागि वार्ता र आपसी समझदारीलाई जोड दिएको जनाइएको छ।

भारतीय टेलिभिजन तथा डिजिटल मिडिया जी न्युजले पनि प्रधानमन्त्री शाहको भनाइलाई प्रमुख समाचार बनाउँदै नेपालले भारतीय भूमि अतिक्रमण गरेको स्वीकारोक्ति सम्बन्धी शीर्षकसहित समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिने प्रधानमन्त्रीको विश्वासलाई समेत उल्लेख गरिएको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपाली संसद्मा देखिएको राजनीतिक प्रतिक्रिया र बहसलाई समेत भारतीय सञ्चारमाध्यमहरूले समाचारको विषय बनाएका छन्। यस घटनाले नेपाल–भारत सीमा सम्बन्धी विषय पुनः सार्वजनिक बहसको केन्द्रमा आएको विश्लेषण गरिएको छ।

नेपाल र भारतबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सीमा सम्बन्धी विवाद रहँदै आएको अवस्थामा प्रधानमन्त्री शाहको अभिव्यक्तिले दुवै देशबीच संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस