
काठमाडौ, १८ जेठ। पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् ।
उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
उनी भाजपाकै निमन्त्रणमा भारत गएका हुन् ।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।.
रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
