निजामती सेवामा अध्ययन बिदाको दुरुपयोग, ७ हजारभन्दा बढी कर्मचारी सम्पर्कविहीन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (८ घण्टा अघि)
  • ४३ पटक पढिएको
निजामती सेवामा अध्ययन बिदाको दुरुपयोग, ७ हजारभन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडौं, २२ जेठ। निजामती कर्मचारीले पनि अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ । निजामती किताबखानाका अनुसार तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधरण बिदा र बेतलबी गरी गरी ७ हजार ५९ कर्माचारीले बिदा लिएका छन् । तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन ।

‘बिदा लिएका कर्मचारी अध्यावधिक गर्न आएका छैनन् । उनीहरू विभिन्न समयमा बिदा लिएका कर्मचारी हुन् । धेरै पुराना पनि छन्,’ निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भने ।

अध्ययन बिदा लिएका धेरै फर्किएनन्

सबैभन्दा धेरै कर्मचारी अध्ययन बिदामा गएका छन् । किताबखानाको तथ्यांकअनुसार तलबी अध्ययन बिदा लिएका ४ हजार १३२ जना कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख नै छैन ।

बेतलबी अध्ययन बिदामा बसेका १ हजार ४४५, असाधारण बिदामा बसेका १ हजार ४४९, असाधारण तलबी बिदामा बसेका ७ र बेतलबी बिदामा बसेका १८ जना कर्मचारी कहाँ छन अत्तोपत्तो छैन ।

‘अध्ययन गर्दा कोही विदेशमा छन् । कोहीले राजीनामा दिएका छन् । कोही काममा फर्किएका पनि हुन सक्छन् तर अद्यावधि गर्न आएका छैनन्,’ महानिर्देशक पोखरेलले भने ।

अघिल्लो वर्षसम्म ९ हजार ६३४ जना कर्मचारीले अध्यावधिक गरेका थिएनन् । किताबखानाले ताकेता गरेपछि यो वर्ष घटेर ७ हजारमा आइपुगेको हो । ‘हामीले फिल्टर गर्दै लगेकाले घटेको हो । अद्यावधिक गर्न वेबसाइटमा सूचना पनि निकालेका थियौं,’ उनले भने ।

निजामती सेवा ऐन र निजामती सेवा नियमावलीअनुसार कर्मचारीले तीन महिनादेखि ५ वर्षसम्म अध्ययन बिदा पाउने नियम छ । अध्ययन पूरा भएपछि सेवामा फर्किने कबुलियत गरिएको हुन्छ ।

 

निजामती सेवा ऐनको ४० ‘ग’ मा अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि तोकिएको छ । अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले पूरा गरेपछि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जानुभन्दा अघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा काममा फर्किनु पर्नेछ ।

तीन महिनासम्म बिदामा बसेमा फर्किएर एक वर्ष, तीन महिनादेखि ६ महिनासम्म बिदामा बसेमा डेढ वर्ष, ६ महिनादेखि ९ महिनासम्म बिदामा बस्नेले फर्किएर दुई वर्ष सेवा गर्नुपर्ने भनिएको छ ।

त्यसैगरी ९ महिनादेखि एक वर्षसम्म तीन वर्ष, एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष, दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष, तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष र चार वर्षदेखि पाँच वर्षसम्म बिदामा बसेमा फर्किएर आठ वर्ष सेवा गर्नुपर्ने भनिएको छ ।

तर, हालसम्म ७ हजार ५९ कर्मचारी काममा फर्किएर सेवा गरे वा गरेनन् भन्ने अत्तोपत्तो छैन । नफर्किएका धेरैजसो कर्मचारी विदेशमै लुकेर बस्ने गरेको पाइएको छ । अध्ययन बिदामा गएर नफर्किएमा बिदामा बसेको अवधिमा लिएको सेवा सुविधा असुल गर्ने नियम छ ।

‘निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा गर्नु पर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब, भत्ता निजले प्राप्त गरेको छात्रवृत्ति रकम तथा कबुलियतमा उल्लेख भएका अन्य रकमसमेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बाँकीसरह असुलउपर गरिने छ,’ निजामती सेवा ऐनको ४० ‘घ’ मा भनिएको छ ।

अध्ययन बिदा लिएर सेवा गर्न नआएमा वा सेवा अवधि पूरा नगरेमा त्यस्ता कर्मचारीको अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि निजको सेवा अवधिमा समेत गणना नहुने भनिएको छ । तर कर्मचारी काममै नफर्किने गरेको पाइएको हो ।

निजामती नियमावलीको नियम ६१ मा अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिहेको प्रमाण सहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनु पर्ने भनिएको छ । तर कर्मचारीले प्रगति विवरण किताबखानमा पठाउने गरेका छैनन् ।

त्यसैगरी, नियमावलीको नियम ६२ मा असाधारण बिदाको व्यवस्था छ । यो नियमअनुसार कर्मचारीले सेवा अवधिमा तीन वर्षसम्म बिदा पाउने छन् ।

त्यसैगरी, नियम ६२ को ‘क’ मा बेतलबी बिदाको व्यवस्था छ । यो नियमअनुसार एकै पटक वा पटकपटक गरी ५ वर्षसम्म बिदा बस्न पाउने भनिएको छ । यसरी बिदामा बसेका कर्मचारी नफर्किंदा सेवा प्रवाहमा कठिन भएको छ । साथै, कर्मचारीको गरिमामा समेत प्रश्न उठेको छ । तलबी बिदामा बसेका कर्मचारीले बिदाको अवधिमा तलबसमेत पाउने गरेका छन् । जसका कारण राज्यलाई आर्थिक भार परेको छ ।

निजामती किताबखानाका अनुसार हाल ९९३ जना कर्मचारी बिदामा छन् । तलबी अध्ययन बिदमा ७३१, बेतलबी अध्ययन बिदामा १६७ र असाधारण बिदामा ९५ गरी ९९३ जना कर्मचारी बिदामा छन् । निजामती किताबखानाका अनुसार यी कर्मचारी हाल नियमअनुसार नै बिदामा रहेका हुन् ।

नफर्किनेलाई तीन दिनको अल्टिमेटम

सरकारले बिदामा बसेर नफर्किने कर्मचारीलाई तीन दिनको अल्टिमेटम दिएको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन भनेको छ ।

केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन अनुरोध गरिएको छ ।

भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसहितको बैठक बसेपछि निजामती किताबखानाले नफर्किएका कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयमा पठाएको छ ।

‘हिजो मन्त्रीज्यूसहित बैठक बसेको थियो । अद्यावधिक गर्नुपर्ने कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयमा पठाएका छौँ । आफ्नो कर्मचारी कुर्सीमा भए/नभएको लेखेर पठाउन भनिएको छ,’ किताबखानका महानिर्देशक पोखरेलले भने, ‘कुर्सीमा नभएमा कारबाही हुनुपर्‍यो । फर्किएको भए अध्यावधिक गर्नुपर्‍यो ।’

अध्ययन बिदामा बसेका कर्मचारी नफर्किएको पाइएमा विभागीय कारबाही गर्ने तयारी सरकारको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस