सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (७ घण्टा अघि)
  • ७१ पटक पढिएको
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं, २२ जेठ। तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिए ।

‘हाम्रो तर्फबाट सकेर प्रतिवेदन बुझायौं । अब बाँकी उतैबाट प्रक्रिया होला,’ उनले भने । प्रतिवेदन ४५ पृष्ठको रहेको छ । समितिले गुरुङसँग बयानसमेत लिएको थियो ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको थियो।

के हो सुधनमाथिको आरोप ?

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।

राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो । आफूमाथि आरोप लागेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस यता गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहेर चल्दै आएको छ । छानबिन समितिले निर्दोष ठहराए गुरुङ पुन: गृहमन्त्री बन्न सक्ने चर्चा पनि उत्तिकै छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस