आजका लागि तय गरिएको रास्वपा बारा अधिवेशन रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २६, मंगलबार (१३ घण्टा अघि)
  • २९ पटक पढिएको
आजका लागि तय गरिएको रास्वपा बारा अधिवेशन रोकियो

काठमाडौं, २६ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले आज जेठ २६ गते आयोजना गर्ने तय गरेको प्रथम जिल्ला अधिवेशन स्थगित भएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले सोमबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै विविध अपरिहार्य कारणवश अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

यसअघि रास्वपा बारा जिल्ला समितिले जेठ २६ गते बिहान १० बजे निजगढ नगरपालिका–८ स्थित शुभकार्य बैंक्वेटमा अधिवेशन आयोजना गर्ने तयारी पूरा गरिसकेको थियो । अधिवेशनका लागि निमन्त्रणा पत्रसमेत सार्वजनिक गरिएको थियो भने नेता–कार्यकर्ता र समर्थकमाझ उल्लेख्य उत्साह देखिएको थियो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित सूचनामा जिल्ला सदस्यहरू, पार्टी पङ्क्ति तथा सरोकारवालालाई अधिवेशन स्थगित गरिएको जानकारी गराइएको छ । साथै, अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा बाँकी प्रक्रियाबारे आधिकारिक जानकारी पछि सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

“सुशासन, समृद्धि र परिवर्तनको यात्रा” भन्ने नारासहित पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आयोजना हुन लागेको अधिवेशन स्थगित भएपछि नयाँ मिति कहिले तय हुन्छ भन्ने विषयमा जिल्लाभर चासो बढेको छ ।

केन्द्रीय निर्वाचन आयोगले आगामी कार्यतालिकासम्बन्धी थप निर्देशन नआएसम्म धैर्य गर्न र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस