काठमाडौंमा यौन व्यवसाय प्रकरण : खाजाघरबाट समातिएका जेल चलान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
काठमाडौंमा यौन व्यवसाय प्रकरण : खाजाघरबाट समातिएका जेल चलान

काठमाडौं, २७ जेठ। रोजगारी र विभिन्न अवसरको खोजीमा काठमाडौं आएका चेलीबेटीलाई होटल तथा रिसोर्टमा लगेर यौन कार्यमा संलग्न गराउने गिरोह प्रहरी नियन्त्रणमा छ । तर, मुद्दा भने अभद्र व्यवहारको चलाइँदैछ । जबकि, विभिन्न खाजाघर सञ्चालनका नाममा युवतीहरूलाई यौन कार्यमा संलग्न गराउने सञ्चालक पुर्पक्षका लागि जेल चलान भइरहेका छ ।

गौशाला प्रहरी वृत्तले शनिबार निजी कार र ट्याक्सीमा युवतीलाई राखेर विभिन्न होटल तथा रिसोर्टमा लैजाने गिरोहका पुरुष–महिला गरी १६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरियो ।

कुनै बेला डान्सबारमा ‘नांगो नाच’ नियन्त्रण गर्ने क्रममा सञ्चालकलाई मानव बेचबिखन मुद्दा  चलाउने त्यही प्रहरी अहिले चेलीबेटीलाई निजी कारमा राखेर होटल, रिसोर्ट लैजाने र यौन कार्यमा सहभागी गराउने गिरोह नै फेला पार्दा किन अभद्र व्यवहारजस्तो सामान्य मुद्दा चलाउँदैछ ? नेपाल प्रेसको यो प्रश्नमा काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराई भन्छन्, ‘कानुनी अस्पष्टता र घटनाको प्रकृति केही फरक भएका कारण तत्काललाई अभद्र व्यवहारको मुद्दा चलेको हो, अरु मुद्दा चलाउने कि के गर्ने भन्नेबारे हामी परामर्शमै छौँ ।’

कानुनमा ‘वेश्यागमनको विज्ञापन गर्न नहुने’ भनिए पनि वेश्यावृत्ति गर्न नहुने नभनेका कारण प्रहरी अन्योलमा परेको हो । मानव बेचबिखन मुद्दा चलाउँदा पुरुषहरू कारबाहीमा पर्ने, महिलाले उन्मुक्ति पाउने स्थिति हुन्थ्यो । उक्त घटनामा केही महिला पनि चेलीबेटीलाई विभिन्न ठाउँमा लैजाने कार्यमा सक्रिय देखिन्छन् ।

घटना के हो ?

गत मंसिरमा प्रहरीको सामान्य चेकजाँचका क्रममा आकाश नामले चिनिने ३९ वर्षीय ट्याक्सी चालक कूलबहादुर कार्की भागेका थिए । प्रहरीले पछ्याएर पक्राउ गर्‍यो । उनको धन्दा खुल्यो, युवतीहरूलाई विभिन्न होटल, रिसोर्ट तथा फ्ल्याटमा लैजाने । उनको मोबाइलमा ५० भन्दा बढी युवतीको फोटो, सम्पर्क नम्बर र उनीहरूले लिने भनी उल्लेखित रकमको विवरण फेला परेको थियो । उनी मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । कार्की दोलखाको मेलुङ गाउँपालिका–१, पवटी घर भई बूढानीलकण्ठमा बस्दै आएका थिए ।

उनको बयानका आधारमा अनुसन्धान हुँदा शनिबार उक्त गिरोह फेला परेको हो । तर, पक्राउ परेका महिला नै उक्त कार्यमा आफैँ संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरू विभिन्न सामाजिक सञ्जालमार्फत युवतीहरूको फोटो देखाएर उनीहरूलाई ग्राहककहाँ लैजाने गर्थे । त्यसमध्ये मकवानपुरको मनहरी गाउँपालिका– २ घर भएका ३३ वर्षीय विकास बोल्न सिनामंगल, शम्भु मार्गमा होटल सञ्चालक हुन् ।

होटलमा आवतजावत गर्ने ग्राहकले खोजी गर्ने क्रममा केही युवती आफ्नो सम्पर्कमा रहेको र बोलाइएको बेला आउने गरेको उनले प्रहरीसमक्ष स्वीकारेका छन् । कतिपय ग्राहकले काठमाडौं बाहिरबाट आएका बेला पहिला नै चिनेका युवतीलाई आफैँ बोलाउने गरेको उनको भनाइ छ । त्यसरी आउन चाहने युवतीहरूलाई उनीहरूकै सहमतिमा ल्याउने र लैजाने कामको आफूले सहजीकरण गरेको उनले बताएका छन् ।

के थियो गतिविधि ?

प्रहरीका अनुसार कतिपय ट्याक्सी चालक र निजी गाडीमा युवती ओसारपसार हुने गरेका छन् । शनिबार गिरोह पक्राउ पर्दा बागमती बि एसी ०८९० र नम्बरको निजी मारुती सुजुकी र बा २ ज २३२७ नम्बरको ट्याक्सीमा फेला परेका थिए । ट्याक्सीको पछाडि ‘मकवानपुरे ठिटो’ र ‘किङ्ग राईडर’ लेखिएको छ ।

केही टाठाबाठा महिला र बिचौलियाको प्रलोभनमा परेर सोझासाझा युवती अनुचित कार्यमा सहभागी हुने गरेका छन् । त्यसरी युवतीका नाममा ग्राहक हेरेर पैसा लिने गरेको उनीहरूले प्रहरीलाई बताएका छन् । एक युवती रातभर ग्राहकसँग बस्दा ८ देखि २० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । तर, ग्राहकले जति दिए पनि रातभर बस्ने युवतीको हातमा ५ हजार मात्रै पर्ने गरेको एक युवतीले बताएकी छन् । बाँकी रकम आफूहरूलाई सम्पर्क गराउने र होटलवालाले बाँड्ने गरेका छन् ।

गौशाला प्रहरी वृत्तका एक कर्मचारीका अनुसार होटलको म्यानेजरसँग युवतीको नम्बर हुने र बोलाइने गरेका घटना बढी छन् । कतिपय युवतीले ग्राहक खोजीमा आफैँ फोन गर्ने गरेका छन् ।

त्यस्तो अवस्थामा कस्तो मुद्दा  चलाउने भन्नेबारे प्रहरी अन्योलमा रहेको उनले बताए । जिल्ला प्रहरी प्रवक्ता भट्टराईका अनुसार यस्तो खाले सामाजिक विसंगति नियन्त्रणमा प्रहरीले कुनै सम्झौता गर्दैन । तर, विद्यमान ऐन–कानुनले निर्धारण गरेको परिधिभित्र रहेर प्रहरीले काम गर्नुपर्ने अवस्था छ ।

युवतीहरूको अवस्था

पक्राउ परेका १६ मध्ये १२ महिला छन् । तीमध्ये पनि १८ देखि २८ वर्षसम्मका छन् । अधिकांश २०–२२ का छन् । तीमध्ये ताप्लेजुङकी २८ वर्षीया गुरुङ थरकी महिला आफैँ यौन व्यवसायमा संलग्न र नयाँ नयाँ युवतीको खोजीमा क्रियाशील रहेकी छन् ।

पक्राउ परेका युवतीहरूले प्रहरीलाई बताएअनुसार प्रायः घरको गरिबीका कारण काठमाडौंमा ‘पैसा कमाउन’ बसेको बताएका छन् । अशिक्षाका कारण उनीहरूले राम्रो काम नपाएका कारण त्यस्तो कार्यमा लागेको भनेका छन् ।

उनीहरूलाई होटल, रेष्टुरेण्टहरुले वेट्रेस, कुक, हाउस किपिङका काम त दिन्छन् । तर, महिनावारी १० देखि १५ हजार मात्रै तलब हुन्छ । एक युवतीले त्यस्तोमा काम गरेको भनेकी छन् । होटल, रेस्टुरेन्टले दिएको पैसाले कोठा भाडा तिर्न र खानलाई नै नपुग्ने उनले बताइन् । ग्राहकसँग होटलमा बस्दा मीठो–मीठो खान पाइने र खुसी पार्न सके एउटै ग्राहकबाट ५–१० हजार रुपैयाँ लिन सकिने ती युवतीले बताएकी छन् ।

अर्की एक युवतीले महिनामा १ लाख रुपैयाँसम्म बचत गर्न सकिने बताएकी छन् । होटलकै गाडी–ट्याक्सीमा आउने–जाने हुँदा गाडी भाडा परेन । खाना ग्राहकले खुवाउने र कतिपय ग्राहकले लुगाफाटो किनिदिने कारण रकम बचत सहज भएको उनको भनाइ छ ।

बिलासी जीवन

पक्राउ परेका १६ जनामध्ये सबैको जीवनशैली बिलासी पाइन्छ । बौद्धकी १८ वर्षीया युवतीले अरुको बिलासी जीवन देखेर त्यस्तो काममा आकर्षित भएको बताएकी छन् । उनले चाहिँ ‘काम सिक्दै गरेको’ कारण यथेष्ट कमाउन नसकेको प्रहरीलाई भनेकी छन् ।

पक्राउ परेका प्रायःका हातमा आईफोनका विभिन्न मोडल र केहीसँग महँगो स्मार्ट फोन छन् ।

खाजा घर सञ्चालक पुर्पक्षका लागि जेलमा

नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले विभिन्न खाजा घर सञ्चालनका नाममा युवतीहरूलाई यौन कार्यमा संलग्न गराउनेहरू पक्राउ गरेर मानव बेचबिखन मुद्दा चलाएको छ । त्यसमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अहिले पनि त्यहाँ कोटेश्वर, नख्खु र भक्तपुरका केही खाजा घरका सञ्चालकविरुद्ध सोही मुद्दा चलिरहेको छ । युवतीहरूलाई आर्थिक र मानसिक दबाब एवं प्रलोभनमा परपुरुषसँग यौन सम्बन्ध राख्न उनीहरूले प्रेरित गरेको प्रहरीको दाबी अनुसार मानव बेचबिखन मुद्दा चलेको हो ।

भन्ने आमाछोरा, गर्ने यौन व्यवसाय

कलंकीमा खाजा घर चलाउने क र ख (दुवैको नाम परिवर्तन) आफूलाई आमा–छोरा भन्थे । त्यहाँ उनीहरूले दिनहुँ दर्जनौँ युवतीलाई बोलाएर ग्राहकसँग यौन कार्यका निम्ति प्रयोग गर्थे । मानव बेचबिखन ब्युरोले गत महिना पक्राउ गरेपछि बल्ल खुल्यो, उनीहरू आमा–छोरा नभएर यौन व्यवसाय सञ्चालनका साझेदार (पार्टनर) थिए । काठमाडौं जिल्ला अदालतको आदेशले अहिले उनीहरू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मुद्दा चलाइएकामध्ये कलंकीमा

गोङ्गबुकी क र ख (दुवैको नाम परिवर्तन) पनि अहिले युवती कारोबारकै मामिलामा पुर्पक्षका लागि जेलमा छन् । उनीहरू नयाँ बसपार्क, गोङ्गबुमा अशोक खाजा घर र मञ्जुश्री खाजा घर चलाउँथे । अगाडि खाजा घरको साइनबोर्ड राखेर पर्दा लगाइएको हुन्थ्यो । भित्र रक्सी, मासुका सितन त पाइन्थ्यो, तर त्यहाँ जाने ग्राहक ती पेय र सितनका निम्ति हैन, युवतीसँग यौन कार्यका निम्ति पुगेका हुन्थे । भित्रपट्टी केही कोठा छन् । त्यहाँ यौन गतिविधि चलाउने गरिन्थ्यो ।

उनीहरू दुवै पक्राउ परेको समयमा युवतीहरू पनि पक्राउ परेका थिए । तर, युवतीलाई अभद्र व्यवहार मुद्दामा केही दिन थुनामा राखेर छाडियो । केही युवती नाबालिका भएका कारण उद्धार कार्यमा संलग्न संस्थाको जिम्मा लगाइयो ।

ताजा अपडेट

खोजी गर्नुहोस