
काठमाडौं, २८ जेठ। सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ ।
ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी छन् ।
उनीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहाको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सन्चालन गरेका थिए । त्यसको साइनबोर्ड, लेटरप्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिर वा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । त्यसको नामसँग मिल्ने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।
साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप समेत छ ।
सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली सरकारी कार्यालय खोलेर स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न ज्यालादारी काममा लगाएको र ज्याला भुक्तानी नगरेको खुलेको थियो । त्यसपछि प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
